नीति तथा कार्यक्रम कार्यान्वयनमा निर्भर रहन्छ : सांसदहरू

काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले नीति तथा कार्यक्रम समग्रमा राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले परम्परागत भन्दा एक कदम अगाडि बढ्नुपर्ने भएपनि त्यसो हुन नसकेको टिप्पणी गरे । उनले नीति तथा कार्यक्रम मूलभूत रुपमा कार्यान्वयनमा निर्भर रहने र बजेटले दिएको कार्यदिशाअनुसार कार्यान्वयन हुने बताए ।
उनले भने ‘नीति कार्यक्रम समग्रमा परम्परागत भन्दा एक कदम अगाडि बढ्नुपर्थ्यो त्यसो हुन सकेन । तर समग्रमा ठिक छ । मुलुभुत रुपमा कार्यान्वयनमा निर्भर रहन्छ । बजेटले दिएको कार्यदिशाअनुसार कार्यान्वयन हुन्छ । विगतमा धेरैकुरा गरिनेछ भनेर पनि गर्न नसकिएको अवस्था छ । आमूल परिवर्तन गर्नुपर्ने छ । कृषि क्षेत्रमा उत्पादनका आधारमा मात्र सहयोग गर्ने कुरा बोल्डमा आउनुपर्थ्यो । शिक्षाका क्षेत्रमा शिक्षक सुविधाहरू पनि बढाउने कुरा गरेकोले शिक्षाको गुणस्तर बढाउने विषयमा गम्भीर हुनुपर्छ । अर्थतन्त्र चलायमान बनाउन सडक, सिँचाइ, खानेपानी र सबैभन्दा बढी परिणाम आउने क्षेत्रबारे ठोस रुपमा आउनुपर्ने थियो त्यो हुनसकेन । स्वास्थ्य क्षेत्रमा पनि जुन रुपमा जानुपर्ने हो त्यो व्यवहारमा जान समस्या हुन्छ । योभन्दा एक कदम अघि बढ्न सकिन्थ्यो त्यसमा चुकेको आभास भयो ।’
नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै काँग्रेस नेता रामहरि खतिवडाले बिरालो बाँधेर श्राद्ध गर्ने परम्पराजस्तै भएको टिप्पणी गरे । उनले कार्यक्रम सकारात्मक रुपमा आएकोले स्वागतयोग्य भएको बताए । धेरैकुरा सकारात्मक आएकाले नकारात्मक रुपमा नलिनसमेत आह्वान गरे ।
उनले भने ‘वास्तवमा यो हाम्रो परम्परा । बिरालो बाँधेर श्राद्ध गर्ने परम्पराजस्तै भएको छ । संविधान संशोधन सहमतिमै गरौं । गर्न नसकिने योजनाहरू खारेज गरौं गर्न सकिने मात्र गरौं भन्ने नयाँ कुरा आएको छ । यो सकारात्मक छ । फजुल खर्च रोक्न प्रक्रिया अघि बढाउँ भन्ने विषय स्वागतयोग्य छ । निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्दै जानेभन्ने कुरा स्वागत योग्य छ । सडक परियोजनाबारे आएको कुरा स्वागत योग्य छ । केही कुरा सकारात्मक आएका छन् सबैलाई नकारात्मक रुपमा नलिन आह्वान गर्दछु । राष्ट्रिय पुँजीलाई आधार मानेर ल्याउनुपर्ने हो तर ऋणमा बजेट बनाउनुपर्ने भएकाले कतिपय त्रुटि हुन्छन् ।’
सांसदहरूले पटकपटक असफल भएका सुधारका विषयहरूको निरन्तरतामात्र भएको प्रतिक्रिया दिएका थिए ।








