राजमार्गलाई हरित व्यवसायमा आधारित आर्थिक राजमार्ग बनाइने

काठमाडौँ । सरकारले विभिन्न राजमार्गलाई हरित व्यवसायमा आधारित आर्थिक राजमार्ग बनाउने भएको छ ।
शुक्रवार सङ्घीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन् ।
उनले पुस्पलाल मध्यपहाडी राजमार्ग, बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग तथा कोरिडोरहरूलाई हरित व्यवसायमा आधारित राजमार्गको रुपमा स्थापित गराइने बताए ।
राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमका रुपमा निरन्तरता दिइने बताए । उनले कृषि आधुनिकीकरण परियोजनालाई पुनरसंरचना गरिने बताए ।
उनले भने ‘पुस्पलाल मध्य पहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग, बिपी राजमार्ग, हुलाकी राजमार्ग र कोरिडोरहरूलाई हरित व्यवसायमा आधारित आर्थिक राजमार्ग बनाइने छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनः संरचना गरी यसलाई राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमका रुपमा निरन्तरता दिइनेछ । माटोको जैविक गुणमा ह्रास आउन नदिन प्राङ्गारिक मलको उत्पादन तथा प्रयोगलाई प्रोत्साहन दिँदै दिगो कृषि उत्पादन प्रवर्द्धनको विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।’
राष्ट्रपति पौडेलले माटोको जैविक गुणमा कमी आउन नदिन प्राङ्गारिक मल उत्पादन र प्रयोगमा प्रोत्साहन गरिने सरकारको नीति रहेको बताए । दिगो कृषि उत्पादन प्रवर्द्धनका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।








