नीति तथा कार्यक्रम पारित गर्न डाकियो मन्त्रिपरिषद बैठक

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषदको बैठक आज बिहान बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहान १० बजे सिंहदरबारमा बस्ने बैठकले नीति तथा कार्यक्रम अनुमोदन गर्ने तयारी गरिएको हो ।

त्यसपछि, सो कार्यक्रम आजै दिउँसो ३ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलमार्फत प्रस्तुत गरिनेछ । संघीय संसद सचिवालयले दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिसकेको छ । संविधानको धारा ९५ अनुसार राष्ट्रपतिबाट दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने व्यवस्था छ ।

बैठकमा नीति तथा कार्यक्रमको अन्तिम मस्यौदा अनुमोदनसँगै, शिक्षक, चिकित्सकलगायत विभिन्न पेशागत समूहसँग हालै भएका सहमति तथा मन्त्रालयगत नियमित एजेण्डामाथि पनि छलफल हुने स्रोतको भनाइ छ ।

सरकारको नीति तथा कार्यक्रमले समावेशी विकास, रोजगारी सिर्जना, सुशासन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड दिने अपेक्षा गरिएको छ । नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएपछि वैशाख २२ देखि २८ गतेसम्म छलफल हुनेछ भने जेठ १५ गते बजेट ल्याइने संवैधानिक प्रावधान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 18 =