‘श्रम संसार’ पोर्टल सञ्चालन भएसँगै भनसुन गरेर रोजगारी पाइने स्थिति अन्त्य हुन्छ : श्रममन्त्री

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ‘श्रम संसार’ पोर्टल सञ्चालन भएसँगै भनसुनको आधारमा रोजगारी पाइने स्थितिको अन्त्य हुने दाबी गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित शुभकामना तथा ‘श्रम संसार’ पोर्टलको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
अहिले नेपालमा भनसुनको आधारमा रोजगारी पाइने स्थिति रहेको उनको भनाइ छ । उनले भनसुन र आफ्नो मान्छे नभएकाहरू रोजगारी पाउने स्थिति नरहेकै कारण युवाहरूमा नैराश्यता बढिरहेको बताए । उनले नेपालको श्रम बजारमा दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले विदेशी श्रमिकहरू आएर नेपालको माग धानिरहेको बताए ।
उनले नेपालको श्रम बजारमा वर्षेनी पाँच लाख श्रमिकहरू आउने भएपनि दक्ष जनशक्ति नभएकै कारण रोजगारी पाउने स्थिति रहेको समेत बताए । उनले अबको एक दशकभित्रमा नेपालका श्रमिक वर्गलाई सीपयुक्त बनाउँदै विदेशी श्रमिकहरूलाई विस्थापित गर्दै लैजाने सरकारको लक्ष्य रहेको बताए ।
उनले भने ‘अहिले नेपालमा भनसुनको आधारमा रोजगारी पाइने स्थिति छ । अहिले कहीँ पनि मान्छे चाहियो भने मलाई यति मान्छे चाहिएको छ पठाइदिनु भनेर भनसुन हुने गरेको छ । त्यसले गर्दाखेरि युवाहरूमा जसको मान्छे र भनसुन छैन उसले केही पाउँदैन भन्ने नैराश्यता भयो । अब त्यसको अन्त्य हुने भयो । अब जोसँग क्षमता र योग्यता छ उसले रोजगारी पाउने स्थिति सिर्जना भयो । अहिले रोजगारदाताहरूलाई चाहिने दक्ष जनशक्ति छैन । भएका दक्षजनशक्तिलाई समेत रोजगारदाता कहाँ छन् भन्ने थाहा छैन । अहिले नेपालमा प्रत्येक वर्ष पाँच लाख मानिसहरु श्रम बजारमा आउँछन् । तर सीपयुक्त नभएकै कारण उनीहरुले रोजगारी पाइरहेका छैनन् । हामी सिपयुक्त नभएकै कारण बाहिर अर्काको देशमा गएर काम गरिरहेका छौं । हामीसँग भएको सीपयुक्त काम चाहिँ बाहिरको मान्छे आएर गरिरहेका छन् । अबको दशकमा हामीले नेपाली श्रमिकहरूलाई सीपयुक्त बनाउँदै बाहिरका मानिसहरूलाई विस्थापित गर्दै जाने हो ।’
उनले श्रम र रोजगारदाताबीचको सम्पर्कलाई मजबुत बनाउन ‘श्रम संसार’ पोर्टलले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।








