प्रज्ञा भवनबाट रेशम चौधरी पक्राउ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।
उनी काठमाडौँस्थित प्रज्ञा भवनबाट पक्राउ परेका हुन् । चौधरी जनमत पार्टीसँग पार्टी एकताको लागि प्रज्ञा भवन पुगेका थिए ।
कार्यक्रम स्थलमा पुगेका चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी प्रज्ञा भवनमा पुगेका थिए ।
२०७२ भदौमा टीकापुरमा भएको घटनाका कारण चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।
तर, २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीका आधारमा उनी डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।
प्रहरी स्रोतका अनुसार आममाफीको फैसला सर्वोच्चले उल्ट्याएपछि उनलाई पक्राउ गरिएको हो ।
चौधरीले न्यूनतम सजाय भुक्तान नगरेकाले उनलाई पक्राउ गर्न सर्वोच्चले आदेश दिएको थियो ।
कारागारको रेकर्डमा उनले न्यूनतम सजाय भुक्तानी नगरेको पाइएपछि सो आदेश दिइएको हो । बाँकी सजाय भुक्तानी गर्न उनलाई कारागार पठाइएको प्रहरीले जानकारी दियो ।








