संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरण गर्न महानगरको निर्देशन
जेहेन्दार, विपन्न, दलित र असहाय विद्यार्थीलाई समावेशी छात्रवृत्ति वितरणमा जोड


काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका सबै संस्थागत विद्यालयहरूलाई चालु शैक्षिक सत्र २०८२ का लागि छात्रवृत्ति वितरण गर्न निर्देशन दिएको छ । महानगरले विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार कक्षा १ देखि १० सम्म अध्ययनरत कम्तीमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य रूपमा निःशुल्क छात्रवृत्ति प्रदान गर्न अनुरोध गरेको हो ।
महानगरका शिक्षा अधिकृत नव नारायण पौडेलका अनुसार विद्यालयहरूले जेहेन्दार, विपन्न, अपांगता भएका, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र सहिद परिवारका विद्यार्थीलाई प्राथमिकतामा राखी समावेशी आधारमा छात्रवृत्ति वितरण गर्नुपर्नेछ । शैक्षिक सत्र २०८० मा ४६५ विद्यालयमार्फत १३ हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएका थिए भने सत्र २०८१ मा यो संख्या बढेर १९ हजारभन्दा माथि पुगेको थियो। यस वर्ष अझ प्रभावकारीरूपमा छात्रवृत्ति वितरण गर्न महानगरले विद्यालयहरूलाई आह्वान गरेको छ ।
विद्यालयहरूले छात्रवृत्ति सम्बन्धी सूचना विद्यालयको सूचना पाटीमा टाँस गरी सम्बन्धित विद्यार्थी तथा अभिभावकहरूबाट आवेदन सङ्कलन गरी जेठको पहिलो हप्ता भित्र छात्रवृत्ति वितरण प्रक्रिया सम्पन्न गर्नुपर्नेछ । यदि विद्यालयहरूले निर्धारित मापदण्डअनुसार छात्रवृत्ति वितरण नगरे वा विवरण महानगरमा पेस नगरेमा शिक्षा ऐन, २०७५ को दफा ५६ र ५७ अनुसार आवश्यक कारबाही गरिने चेतावनीसमेत महानगरले दिएको छ। यसमा विद्यालयको स्वीकृति र अनुमति रद्दसम्मको कदम चाल्न सकिने उल्लेख गरिएको छ ।
