सरकार-शिक्षक महासंघ वार्ता निष्कर्षउन्मुख, कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने


काठमाडौं । सरकारले नेपाल शिक्षक महासंघसँग मंगलबार शिक्षा मन्त्रालय र सिंहदरबारमा गरेको द्विपक्षीय वार्ता निष्कर्षउन्मुख देखिए पनि औपचारिक सहमति भने जुट्न सकेको छैन । तर दुवै पक्ष आगामी २१ वैशाखदेखि सुरु हुने कक्षा १२ को परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने विषयमा लचिलो देखिएका छन् ।
नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले परीक्षा सञ्चालनमा आफूहरू पूर्ण जिम्मेवार रहेको बताउँदै तोकिएको मितिमा परीक्षा गराउने प्रतिबद्धता जनाइन् । वार्तामा महासंघले आफ्ना ९ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेको छ । ती मागहरूमध्ये केही माग मन्त्रिपरिषदबाट पारित भए महासंघले आन्दोलनको स्वरूप परिवर्तन गर्न तयार रहेको जानकारी दिइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको उल्लेख गर्दै छिट्टै निष्कर्षमा पुग्ने प्रयास भइरहेको बताए । यता महासंघले पनि आफूहरूको न्यूनतम सहमतिका बिन्दु सरकारलाई बुझाइसकेको र सरकारले निर्णय गरेपछि महासंघको बैठक बसेर आन्दोलनको नयाँ मोडालिटी तय गरिने जनाएको छ ।
गत चैत २० गतेदेखि जारी आन्दोलनले सार्वजनिक शिक्षा प्रणाली प्रभावित भएको सन्दर्भमा सरकार वार्तामा गम्भीर देखिएको हो । यसअघि निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले ७ बुँदे प्रस्ताव तयार पारेकोमा पछिल्लो वार्तामा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक लगायत उच्चस्तरीय नेताहरूको पनि सहभागिता रहेको थियो ।
महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको टोलीले वार्तामा शिक्षक समुदायको माग स्पष्ट रूपमा राखेको बताइएको छ । आन्दोलनको २८औं दिनसम्म आइपुग्दा शिक्षा क्षेत्रमा देखिएको असरलाई मध्यनजर गर्दै सरकार र महासंघबीचको वार्ताबाट चाँडै ठोस सहमति अपेक्षा गरिएको छ ।
