आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान

काठमाडौं । नेपाली लेखक सङ्घले आख्यानकार डा ध्रुवचन्द्र गौतमलाई दोस्रो राष्ट्रिय लेखक पुरस्कारबाट सम्मान गरेको छ ।

काठमाडौँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित एक समारोहकाबीच उनलाई एक लाख राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । यसअघि पहिलो पुरस्कार साहित्यकार बैरागी काइँलालाई प्रदान गरिएको थियो ।

तेस्रो राष्ट्रिय लेखक दिवसका अवसरमा आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले उनलाई दोसल्ला ओढाएर कदर पत्रसहित पुरस्कार प्रदान गरे ।

वि.सं २००० मा वीरगञ्जमा जन्मनुभएका डा गौतमले भारतको पूणे विश्वविद्यालयबाट भाषा विज्ञानमा विद्यावारिधि गरेका छन् ।

वि.सं २०२४ बाट उपन्यास लेख्न थाल्नुभएका उनका २९ वटा उपन्यास प्रकाशित छन् । आधा दर्जन कथा सङ्ग्रह र एक दर्जन नाटक लेख्नुभएका डा गौतमका ४५ कृति प्रकाशित भएका कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा मन्त्री पाण्डेले मुलुकमा पछिल्लो समय आशाभन्दा निराशा बढिरहेको उल्लेख गर्दै आशाको सञ्चार गर्न सबै लाग्नुपर्ने धारणा राखे ।

उनले विगतमा भन्दा धेरै कुराहरू परिवर्तन हुँदै आए पनि सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्नुपर्नेमा जोड दिए।

पुरस्कृत व्यक्तित्व डा गौतमले साहित्यले सम्मानका लागि आभार व्यक्त गरे । उनले लोकतन्त्रलाई बलियो बनाउने साहित्यको महत्वपूर्ण भूमिका रहेको र यसलाई थप सशक्त बनाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा विभिन्न व्यक्तिलाई मानार्थ सदस्य सम्मान प्रदान गरिएको थियो । यसरी सम्मान पाउनेमा डा गौतमसहित बैरागी काइँला, राजनीतिज्ञ नरहरि आचार्य, डा बेञ्जु शर्मा, डा तुलसी भट्टराई, प्राडा हेमाङ्गराज अधिकारी, साहित्यकार हरि अधिकारी, सनद रेग्मी, पूर्व मन्त्री भक्तबहादुर बलायर रहेका छन् ।

यस्तै, डा गोविन्दराज भट्टराई, डा व्रतराज आचार्य, रामानन्द आचार्य, गायत्री श्रेष्ठ, ज्ञानुवाकर पौडेललगायत ३२ जनालाई उक्त सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाली लेखक सङ्घकी उपाध्यक्ष बिमला तुम्खेवा, साहित्यकार डा रत्नमणि नेपाल, अनुपमा रेग्मीलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *