अगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा क्यान्सर, मुटु र जलन उपचार सेवा बिस्तार गर्छौं : मन्त्री पौडेल


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अगामी आर्थिक वर्षदेखि सात वटै प्रदेशमा क्यान्सर, मुटु तथा जलन उपचार सेवा बिस्तार गर्ने गरी सरकार अघि बढिरहेको बताएका छन् ।
अगामी आर्थिक वर्षको बजेटबारे सोमवार प्रदेश सरकारहरूसँगको छलफलमा मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले स्वास्थ्य क्षेत्रमा केन्द्र, प्रदेश र स्थानीय गरी तीन वटै तहको सरकारले संयुक्त रूपमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याए ।
क्यान्सर उपचार सेवा हाल सबै प्रदेशमा पुग्न नसकेको उल्लेख गर्दै उनले आगामी वर्षभित्र सात वटै प्रदेशमा बिस्तार गर्ने सरकारको लक्ष्य रहेको बताए ।
उनले मुटु र जलन उपचार सेवाको पूर्वाधार निर्माणका लागि पनि काम अघि बढिसकेको बताए । हालसम्म ६० वटा आधारभूत अस्पताल भवन निर्माण भइसकेको उल्लेख गर्दै मन्त्री पौडेलले जनशक्ति र आवश्यक उपकरणको अभावका कारण सेवा सञ्चालनमा चुनौती रहेको बताए ।
उनले भने, ‘अब हामीले नीतिगत र सुशासनको क्षेत्रमा सहकार्य कसरी गर्न सकिन्छ भन्नेबारेमा सहकार्य गरौं । जुनसुकै तहको अस्पताल जहाँ छ त्यसमा तीन वटै तहको सरकार मिलेर लगानी गरौं । सीमित स्रोत साधनकाबीच प्रभावकारी सेवा बिस्तार गर्न सहयोग पुग्छ कि । हामी यस्तो मोडालिटीको विकास गर्न खोजिरहेका छौं । त्यसैगरी हामी क्यान्सर उपचार सेवा सात वटै प्रदेशमा विस्तार गर्ने गरी अगाडि बढेका छौं । अहिले सबै प्रदेशमा पुगेको छैन । अब बिस्तारै पुग्ने क्रममा छ । मुटु रोगको उपचार पनि अगामी आर्थिक वर्षदेखि सात वटै प्रदेशमा पुर्याउनेगरी अगाडि बढेको स्थिति छ । त्यस्तै जलन उपचार पनि सात वटै प्रदेशमा बिस्तार गर्ने गरी भौतिक संरचना निर्माणको काम अगाडि बढाएको स्थिति छ । अहिले हामीसँग भएका स्वास्थ्य उपचारको समेत प्रयोग गर्ने समय सिद्धिन लागेको स्थिति छ । प्रदेश अस्पतालहरूको हकमा समेत त्यही खालको स्थिति रहेको छ । त्यस्तै संघीय अस्पतालहरूमा समेत पर्याप्त पूर्वाधार बन्न सकेको छैन । अब ६० वटा आधारभूत अस्पतालका भवनहरू बनेका छन् । तर त्यसमा जनशक्ति पनि छैन, उपकरण पनि छैन ।’
निर्माणाधीन आधारभूत अस्पताललाई पूर्णता दिन ३० अर्ब बजेट आवश्यक पर्ने उल्लेख गर्दै उनले तीन तहको सरकारबीच सहकार्य हुन जरुरी रहेको बताए ।
