मुलुकको कुल विद्युत खाँचो स्वदेशी उत्पादनले आपूर्ति गरौँ : सांसद जबरा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले मुलुकको कुल विद्युत खाँचो स्वदेशी उत्पादनले आपूर्ति गरी वृहत मात्रामा बिजुली निकासी गर्नेकुरा सरकारको उद्देश्य हुनुपर्ने बताएका छन् ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकको राजश्वले साधारण खर्च पनि धान्न नसकेको भन्दै देशको युवाहरु विदेशमा गएर बगाएको खुन पसिनाले कमाएको रेमिट्यान्सले जिडिपीको ७५ प्रतिशत वार्षिक सामान आयात गर्ने क्षमता रहेको बताए ।
उनले कुल रिजर्भ १५ महिनाको आयात धान्ने क्षमता रहेको बताउँदै जनवरी २०२५ को रिपोर्टअनुसार लगभग १५.६६ बिलियन डलर मुद्राको सञ्चिति भएको बताए ।
उनले भारतबाट विद्युत आयात गरेपनि वर्षा मौसममा २०८१ भदौ ७ मा ७ सय ४४ मेगावाट विद्युत भारतमा निर्यात गरेको बताए ।
उनले बंगलादेशलाई ५ महिनाको लागि वर्षात मौसममा ४० मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भएको बताए ।
नेपालसँग ८३ हजार मेगावाट विद्युतको सम्भाव्यता भएको देशले ३५ सय मेगावाट विद्युत उत्पादन गरिरहेको बताए । उनले यो उद्देश्य प्राप्तिका लागि विदेशी र स्वदेशी लगानीकर्तालाई आकर्षित गर्नुपर्ने बताए ।
यसका लागि सजिलो किसिमको नियम कानून र भ्रष्टाचारमुक्त वातावरण लगानी कर्ताले खोजेको बताए । यस किसिमको परिस्थिति हालसम्म पनि सरकारले सिर्जना गर्न नसकेको बताए ।
