घाइते शिक्षकहरुको उपचार सरकारले गर्नुपर्छ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आन्दोलनरत समूहमाथि दमन र शक्ति प्रदर्शन गरिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । विभिन्न पेसागत कर्मचारीहरु आन्दोलनमा हुँदा समेत सरकारले अनदेखा गरेको उनको आरोप छ ।
उनले शिक्षक आन्दोलनमा घाइते भएकाहरुको उपचारको प्रवन्ध सरकारले गर्नुपर्ने माग राखे ।
उनले भने– ‘विभिन्न माग राखेर विभिन्न पक्षले सडकमा आन्दोलन गरिराखेका छन् । सरकार त्यो आन्दोलन देख्दैन । सरकार दमन र आफ्नो शक्ति प्रदर्शनमा लागिरहेको छ । हिजो जति जना पनि घाइते हुनुभएको छ उहाँहरुलाई शिघ्र स्वास्थ्य लाभको कामनासहित उपचारको लागि सरकारसँग माग गर्दछौं ।’
फरक प्रसङ्गमा बोल्दै अर्यालले अगामी आर्थिक वर्षको बजेट बुढीगण्डकी जलविद्युत आयोजनालाई सम्बोधन हुनेगरी आउनुपर्ने बताए ।
मुलुकमा रोजगारी वृद्धि गर्नको लागि तीन सिफ्टमा काम गर्ने व्यवस्थासहितको बजेट आउनुपर्ने उनको भनाइ छ ।








