शिक्षक महासंघले भन्यो- आन्दोलन थप सशक्त हुन्छ

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग गर्दै जारी शिक्षक आन्दोलन थप चर्किएको छ । चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको अगुवाइमा सुरु भएको आन्दोलन अझै रोकिएको छैन । आइतबारको प्रदर्शनमा सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप समेत भएको थियो ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलनका क्रममा भएका धरपकड र हिंसात्मक घटनाको कडा भर्त्सना गर्दै घाइते शिक्षकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै, उनले सरकारसँग माग पूरा नभएसम्म आन्दोलनलाई अझ सशक्त ढंगले अगाडि बढाउने घोषणा गरेका छन् ।
महासंघले सोमबार बिहान ११ बजे सबै आन्दोलनकारीलाई माइतीघर मण्डलामा भेला हुन आह्वान गरेको छ । अझै काठमाडौं नपुगेका शिक्षकहरूलाई लक्षित गर्दै महासंघले भावनात्मक प्रश्न समेत उठाएको छ- ‘आन्दोलनको मोर्चामा तपाईंका साथीहरूको रगत बग्दा तपाईंहरू घरमै बस्न सक्नुहुन्छ ? साथीहरूको पीडाले तपाईंलाई नछोएको हो ?’
महासंघले सबै शिक्षकहरूलाई तत्काल काठमाडौं आइ आन्दोलनमा सक्रियताका साथ सहभागी हुन आग्रह गर्दै आन्दोलनलाई थप सबल बनाउन आह्वान गरेको छ ।








