समापिका गौतम : थिएटरदेखि पर्दासम्मको यात्रामा अभिनयको मोह र मिसन

काठमाडौँ । नेपाली सस्पेन्स थ्रिलर चलचित्र ‘खेल’ आगामी वैशाख १२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ ।

नेपाली लोककथा, परम्परा, अध्यात्म र थ्रिलरको सम्मिश्रणमा आधारित यस चलचित्रमा अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका केही साथीसँग सम्बन्धित कथा प्रस्तुत गरिएको छ ।

यही चलचित्रमार्फत अभिनेत्री समापिका गौतमले ठुलो पर्दामा डेब्यू गरिरहेकी छन् ।

थिएटरमा अभिनय गर्दै हुर्किएकी समापिका ‘खेल’लाई आफ्नो अभिनय यात्राको महत्त्वपूर्ण मोड मान्छिन् । पर्दामा देखिन पाउनु उनको लागि रोमाञ्चक अनुभव मात्र नभई जीवन उपयोगी शिक्षाले भरिएको पल पनि रह्यो । उनी भन्छिन्, ‘म पर्दामा धेरै चलचित्र कर्मीहरूलाई देख्दै हुर्किएकी हुँ । अब पर्दामा आफूलाई देख्दा जुन अनुभूति भयो, त्यो शब्दमा भन्न गाह्रो छ ।’

थिएटर अभिनयमार्फत कलात्मक आत्मविश्वास बनाएकी समापिकाले आफ्नो अभिनय यात्रालाई सिकाइ र मार्गदर्शनको अवसरका रूपमा हेर्छिन् । थिएटर र चलचित्रबीच केही टेक्निकल भिन्नता भए तापनि, उनले दुवै माध्यमलाई समान रूपमा आत्मसात् गरेकी छन् ।‘मलाई सिकेको कुरा अभिव्यक्त गर्न पाए आत्मसन्तुष्टि मिल्छ,’ समापिका भन्छिन् ।

चलचित्रमा उनले ‘ईसा’ नामकी युवतीको भूमिका निर्वाह गरेकी छन्, जो साथीहरूलाई माया गर्ने, उनीहरूको इच्छा विपरीत जान नसक्ने भावुक पात्र हुन् । समापिकाले आफूलाई पनि केही हदसम्म ईसासँग मिल्ने बताउँछिन् । ‘हाम्रो केही स्वभाव मिल्छन्, तर केही भिन्नता पर्दामा हेर्न पाइन्छ’ उनी भन्छिन् ।

सानैमा टेलिभिजन हेरेर कलाकार बन्ने रहर जागेको बताउने समापिकाको अभिनय यात्रा एसएलसीपछि थिएटर प्रवेशसँग सुरु भएको हो । परिवारको साथ र प्रेरणाले उनलाई यो क्षेत्रमा डोर्‍यायो ।

उनले स्कुले दिनहरूमा अभिनय गरेर दर्शक हँसाउने, रुवाउने अवसरहरूबाट नै आफूभित्रको कलाकार पहिचान गरेकी थिइन् । समापिकाको अभिनय यात्राको लक्ष्य केवल पर्दामा देखिनु मात्र होइन, नेपाली सिनेमामा कला चेत निर्माण गर्ने योगदान दिनु हो । उनलाई आफूलाई भर्सटाइल कलाकारका रूपमा स्थापित गर्दै फरक–फरक कथाहरूमा काम गर्न मन छ ।

अनुराग प्रधान र आस्था श्रेष्ठद्वारा निर्देशित ‘खेल’ सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण भएको हो । लुइसराज महर्जन र आशिषराज महर्जन निर्माता रहेको यो चलचित्रमा सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटाको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *