आइपिओ जारी गर्ने तयारीमा मुक्तिनाथ फुड बैंक


काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेड र मुक्तिनाथ फुड बैंक लिमिटेड बीच संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।
मुक्तिनाथ क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापना काल देखि सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन (IPO) जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
एक कार्यक्रमका बिच मुक्तिनाथ फुड बैंकका तर्फबाट सञ्चालक मोहन कुमार बस्नेत र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
संस्थागत परामर्श सेवा सहित पूँजी संरचना परिवर्तन, हकप्रद शेयर निष्काशन, पू्ँजी संकलन लगायतका कार्य गर्न आवश्यक परामर्श लिन तथा कम्पनीको प्रबन्ध पत्रमा उल्लेखित उद्देश्य बमोजिम कार्य गर्न आवश्यक सहजीकरणको लागि उक्त सम्झौता गरिएको हो ।
वैशाख १७ गते हुन गइरहेको विशेष साधारण सभाबाट हकप्रद शेयर पारित गरी आ.व. २०८१/८२ भित्र ४० करोड चुक्ता पूँजी पुर्याउने कम्पनीले जानकारी गराएको छ । साथै, आ.व. २०८२/८३ भित्र सर्वसाधारणलाई शेयर निष्काशन गर्ने समेत लक्ष्य लिएको छ ।
मुक्तिनाथ फुड बैंक लिमिटेड, धितो पत्र बजारमा सूचीकृत भई कृषि मूल्य श्रृंखला विकासमा कार्यरत मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सहायक कम्पनीको रुपमा २०७९ सालमा स्थापना भएको कम्पनी
हो ।
खाद्यान्न जस्तो मानव स्वास्थ्यसँग प्रत्यक्ष रुपमा सरोकार राख्ने क्षेत्रमा उपभोक्ताको माग बमोजिम सहज, सुलभ, नेपालमै उत्पादित र गुणस्तरीय खाद्य वस्तुहरू उपलब्ध गराई एकातर्फ उपभोक्ता हक हित संरक्षण र अर्कोतर्फ कृषकहरूको बजार सुनिश्चितता गर्न, खाद्य वस्तुहरूको उत्पादन, संकलन, प्रशोधन र बजारीकरणहरू जस्ता कार्यलाई वृहत् रुपमा अगाडी बढाउन लागिरहेको कम्पनीले जानकारी गराएको छ ।
