बालबालिकालाई खुवाइयो भिटामिन ‘ए’ र जुकाको औषधि (तस्बिरहरु)

काठमाडौं । आज र भोलि देशभरका छ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ । साथै, एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि समेत दिइनेछ । यो अभियान ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा सञ्चालन हुँदैछ ।

नेपालमा अझै पनि बालकुपोषण गम्भीर समस्या बनेको छ । यसले बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासमा गहिरो प्रभाव पार्छ। विशेष गरी सूक्ष्मपोषक तत्वहरूको कमी जस्तै भिटामिन ‘ए’-ले दृष्टि गुम्ने समस्यासमेत निम्त्याउने भएकाले सरकार वर्षमा दुईपटक यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालका अनुसार, नेपाली बालबालिकामा कर्बोहाइड्रेट, फ्याट, र प्रोटिन जस्ता तत्वहरू प्रशस्त पाइए पनि भिटामिन ‘ए’ को मात्रा कम हुने ग र्छ। यसले गर्दा रतन्धो, आँखामा घाउ, र दृष्टिविहीन हुने जस्ता गम्भीर असर देखिन्छन् । यिनै जोखिमलाई न्यूनीकरण गर्न वैशाख र कात्तिक महिनामा नियमित रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइन्छ ।

सरसफाइको अभावले सर्ने जुका आन्द्रामा बस्छ र पोषक तत्व चुस्ने काम गर्छ। यसले बालबालिकालाई विस्तारै कुपोषणतर्फ धकेल्ने भएकाले, औषधिको माध्यमबाट यसलाई रोक्न सकिन्छ। कार्यक्रमकै दौरानमा बालबालिकाको पोषण स्थिति परीक्षण गरिनेछ, जसले कुपोषणको अवस्था पहिचान गर्न सहयोग गर्छ ।

देशव्यापी रूपमा सञ्चालन हुने यस अभियानमा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी सक्रिय रूपमा सहभागी छन् । भिटामिन ‘ए’ कार्यक्रम सन् १९९३ (वि.सं. २०५०) मा आठ जिल्लाबाट सुरु भएको थियो भने २००२ (वि.सं. २०५९) मा देशभर विस्तार गरिएको हो । जुकाको औषधि कार्यक्रम भने २०५६ सालमा १३ जिल्लाबाट सुरु भई २०६७ सालदेखि सम्पूर्ण जिल्लामा लागू गरिएको हो ।

सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै आएको छ । भिटामिन ‘ए’ दृष्टि र रोग प्रतिरोधात्मक क्षमताका लागि अत्यन्तै आवश्यक पोषक तत्व हो। यसको अभावले दैनिक रूपमा एक बालबालिका दृष्टिविहीन बन्ने गरेको सरकारी तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *