सुन किन महँगिँदैछ ? जान्नुहोस् पछाडिको कारण

काठमाडौं । अर्थतन्त्रमा बढ्दो अनिश्चितता र विश्वव्यापी बजारको अस्थिरताका कारण सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । केही महिनादेखि लगानीकर्ताहरू सुरक्षित विकल्पको खोजीमा सुनतर्फ आकर्षित भएका छन्, जसको प्रत्यक्ष असर सुनको मूल्यमा देखिएको हो ।

बुधबारको दिन ‘स्पट गोल्ड’ अर्थात् अन्तर्राष्ट्रिय बजारमा कारोबार हुने सुनको मूल्य प्रतिआउन्स ३,३५७.४० डलर पुगेको थियो, जुन नेपाली बजारमा प्रतितोला १,३८१.३३ डलर बराबर पर्छ । यो अहिलेसम्मको सबैभन्दा उच्च मूल्य हो, यद्यपि त्यसपछि मूल्यमा केही गिरावट आएको छ ।

नेपालमा पनि यसको प्रभाव देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले वैशाख ४ का लागि तोकेको मूल्य प्रतितोला रू. १,९०,६०० पुगेको छ । जसले सुनलाई नेपाली लगानीकर्ताहरूका लागि झनै महत्वपूर्ण बनाएको छ ।

सुनलाई परम्परादेखि नै संकटका समयमा सबैभन्दा भरपर्दो सम्पत्तिको रूपमा हेरिँदै आएको छ । कोभिड-१९ महामारीजस्ता विश्वव्यापी संकटमा सुनको मूल्यमा अचानक उछाल देखिनु यसको प्रमाण हो । सन् २०२० को सुरुमा महामारी फैलिँदा सुनको मूल्य चुलिएको थियो- मानिसहरू अन्य सम्पत्तिबाट टाढा भई सुनतर्फ लम्किएका थिए । विशेषज्ञहरू भन्छन्- ‘सुन सुरक्षित त हो, तर जोखिमरहित होइन ।’

बेल्फास्ट विश्वविद्यालयका आर्थिक इतिहासकार डा. फिलिप फ्लाइअर्सका अनुसार, ‘सुनको मूल्य बढ्ने क्रम सधैं कायम रहँदैन । जब बजारमा स्थायित्व फर्किन्छ, सुन बेच्न थालिन्छ र मूल्य घट्न थाल्छ ।’ त्यसैले, उनी सुझाउँछन्, ‘सुनमा लगानी गर्ने हो भने छोटो होइन, दीर्घकालीन सोच आवश्यक हुन्छ ।’

हालको मूल्यवृद्धि पछाडि अमेरिकी नीतिगत परिवर्तनको ठूलो भूमिका छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका कर नीतिहरू, व्यापार युद्धको त्रास, र विश्वव्यापी आर्थिक अनिश्चितताले लगानीकर्ताहरूलाई सुनतर्फ धकेलिरहेका छन् । सरकारी, व्यक्तिगत र खुद्रा लगानीकर्ता सबैले इक्विटी बेचेर सुन किन्न थालेपछि यसको माग चुलिएको हो । विशेषगरी केन्द्रीय बैंकहरूले मौज्दात सुरक्षित राख्न सुन किन्न थालेका छन्, जसले बजारमा थप चाप सिर्जना गरेको छ ।

सुनको मूल्य वित्तीय पक्षमै सीमित छैन। यसमा सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्व पनि जोडिएको छ । प्राचीन इजिप्टको तूतन्कामनको सुनको मखुन्डोदेखि लिएर भारतको पद्मनाभस्वामी मन्दिरसम्म- सुनले इतिहासकै महत्वपूर्ण सांकेतिक भूमिका खेलेको छ । यही कारणले गर्दा विश्व बजारमा अनिश्चितता छाए पनि व्यक्तिगत तहमा सुनको गरगहनाको महत्त्व खासै घट्दैन । –एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *