ब्लकबस्टर सिनेमा दिएका विजय र केकीको ‘जनै हराएको बाहुन’ कस्तो होला ?


काठमाडौँ । वि.सं. २०८१ मा ब्लकबस्टर सिनेमा दिएका कलाकारहरू विजय बराल र केकी अधिकारी एकसाथ चलचित्रमा देखिने भएका छन् ।
उनीहरू अहिले छायांकन भइरहेको चलचित्र ‘जनै हराएको बाहुन’ मा एकसाथ देखिँदै छन् ।
गत वर्ष विजयले लिड गरेका चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले ४६ करोडभन्दा माथि केलक्सन गरेको थियो । त्यस्तै केकीले लिड गरेको चलचित्र ‘बोक्सीको घर’ले ११ करोड नजिक कलेक्सन गरेको थियो ।
अब आउने चलचित्र ‘जनै हराएको बाहुन’ मा विजय र केकीको मुख्य भूमिका रहेको छ । बलियो लाइनअप रहेको यस चलचित्रमा यी दुई कलाकार एकअर्कोको जोडीका रुपमा छन् कि छैनन् भन्ने कुरा अहिले नै निर्माणपक्षले खुलाएका भने छैनन् ।
‘जनै हराएको बाहुन’मा विजय र केकीसँगै मिरुना मगर, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटालगायत कलाकारको अभिनय छ ।
‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् । निर्माण टिममा अनुसार ‘जनै हराएको बाहुन’ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्नेछ । चलचित्रले आमा र छोराबिचको भावनात्मक कथा भन्नेछ ।
निर्देशक न्यौपानेको यो डेव्यु निर्देशन हो । यो चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।
बलियो लाइनअप रहेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । पेपरक्लिप प्रालिको निर्माण रहने चलचित्रका विमल न्यौपाने निर्माता हुन् ।
चलचित्रका कार्यकारी निर्मातामा कमल न्यौपाने, नारायण तिम्सिना, चुरामणी शिवाकोटी, रुपेश लामा र आरके मानन्धर रहेका छन् ।
अर्जुन पोखरेल, थानेश्वर गौतम र एस डि योगीको संगीत रहने यस सिनेमामा लक्ष्मणराज पौडेल प्रोडक्सन म्यनेजर रहेका छन् ।
सिनेमाको निर्माता आदित्य फिल्म्स रहेको छ भने नवीन गुरुङले छायांकन गरिरहेका छन् ।
