राष्ट्रियसभाबाट पारित विधेयकबारे प्रतिनिधिसभालाई जानकारी

काठमाडौं । राष्ट्रियसभाले आजै पारित गरेका विभिन्न पाँचवटा प्रतिस्थापन विधेयकबारे प्रतिनिधिसभालाई जानकारी गराइएको छ ।
प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पति भएका पाँचवटा विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशबारे जानकारी गराएका हुन् । यी विधेयकहरू राष्ट्रियसभाले संशोधनबिना पारित गरेको हो ।
सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि राष्ट्रियसभाबाट प्राप्त सन्देश बैठकमा टेबुल गरियो ।
आजै प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘लोक सेवा आयोगको ६५ औँ वार्षिक प्रतिवेदन (२०८०/२०८१) र मधेशी आयोगको छैठौँ वार्षिक प्रतिवेदन (२०८०/०८१) पेस गरेका छन् ।
प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बिहान ११ बजे बस्नेछ ।








