आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा होटल व्यवसायीको भूमिका महत्वपूर्ण : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घले नयाँ वर्ष २०८२ को पूर्व सन्ध्यामा आयोजित शुभकामना आदानप्रदानका अवसरमा उनले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा साना तथा मझौला होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।

महामन्त्री थापाले कोरोनाबाट थला परेको नेपालको होटल क्षेत्रलाई आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्नुपर्ने उल्लेख गरे । लगानीको वातावरण निर्माणमा सरकार लाग्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री सीता गुरुङले व्यवसायसँगै राजनीतिलाई अगाडि बढाउन लोकतान्त्रिक होटल व्यवसायी सङ्घले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् ।

लोकतन्त्रवादी होटल व्यवसायी एकताबद्ध भएर अगाडि बढे मात्र लोकतन्त्रलाई जोगाउन सकिने उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य एवं शुभेच्छुक संस्था समन्वय विभागका संयोजक अब्दुल सत्तारले पार्टीले निर्धारण गरेकै मितिमा लोकतान्त्रिक होटल सङ्घको अधिवेशन सम्पन्न गर्नुपर्ने बताइन् । व्यवसायीको समस्या समाधान गर्न कांग्रेस प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले पर्यटन प्रवद्र्धनको क्षेत्रमा नेपालको होटल क्षेत्रले महत्वपूर्ण योगदान दिएको उल्लेख गरे । होटल क्षेत्रले नेपालको अर्थतन्त्रमा सहयोग गरेको उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले देशभर बसाइँसराइको दर भयावह बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले देशमा रोजगारी सिर्जना गर्न होटल व्यवसायीले खेलेको भूमिका सराहनीय रहेको बताए ।

कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँले कांग्रेसले व्यवसायीको संरक्षण गर्न लाग्नुपर्ने बताए ।

कांग्रेसको शुभेच्छुक संस्थाका रुपमा स्थापना भएको लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले हाल देशभरका ४१ जिल्लामा आफ्नो जिल्ला शाखा गठन गरिसकेको सङ्घका अध्यक्ष लीलाप्रसाद ढकालले बताए ।

लाजिम्पाट बुटिक होटलको शुभारम्भ

वरिष्ठ होटल व्यवसायी लीलाप्रसाद ढकाल र शैलेश कार्कीलगायतको समूहले निर्माण गरेको लाजिम्पाट बुटिक होटलको शुभारम्भ गरिएको छ ।

काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटमा तीन करोड लागतमा निर्माण गरिएको उक्त होटलको आज कांग्रेस महामन्त्री एवं पूर्व मन्त्री गगनकुमार थापाले शुभारम्भ गरे ।

सुविधा सम्पन्न मिटिङ हलसहित निर्माण गरिएको १५ कोठाको होटलमा हाल २२ जनालाई रोजगार प्रदान गरिएको होटलका सञ्चालक ढकालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 5 =