राजावादीको प्रदर्शनमा भएका घटनामा संलग्नहरुलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन

काठमाडौं । चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाहरूको सत्य तथ्य छानविन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन संसदीय समितिले निर्देशन दिएको छ ।

आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सरकारलाई राजावादीहरूको प्रदर्शनबाट भएका घटनाहरूको सत्य तथ्य छानविन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको हो ।

समितिको तर्फबाट समिति सभापति अम्मरबहादुर थापाले घटनामा संलग्नलाई कारबाही गर्न र यस प्रकारका घटनाहरू पुन : दोहोरिन नदिन समयमै त्यस्ता गतिविधि नियन्त्रण गर्ने गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त राखी तयारी अवस्थामा रहन समिति सरकारलाई निर्देशन दिए ।

उनले भने, ‘२०८१ चैत्र १५ गते शुक्रवारको दिन ज्ञानेन्द्र शाहको नाममा भएको अराजक गतिविधिबाट दुई जना नेपाली नागरिकले ज्यान गुमाउनुपरेको, सुरक्षाकर्मीहरू घाइते भएका र सार्वजनिक तथा निजी घर, सवारी साधन तथा लगायतका सम्पत्तिमाथि आगजनी, तोडफोड, लुटपाटबाट भएको जनधनको क्षतिप्रति यो समिति गम्भीर बनेको छ । सो दिनको अराजक गतिविधिबाट ज्यान गुमाउनुभएका व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौँ । साथै सुरक्षाकर्मी लगायतका सम्पूर्ण घाइते व्यक्तिको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै निजहरूको उपचारको प्रभावकारी प्रबन्ध गर्न समेत समिति नेपाल सरकारलाई निर्देशन गर्दछ । सो दिनको अराजक गतिविधिबाट निजी सम्पत्ति लगायतका सरकारी सम्पत्तिमा गम्भीर क्षति भएको हुँदा उक्त दिनको घटनाको सत्य तथ्य छानविन गरी संलग्न जो सुकैलाई पनि कानूनी दायरामा ल्याइ हदैसम्मको कारबाही गर्न र यस प्रकारका घटनाहरू पुनः दोहोरिन नदिन समयमै त्यस्ता गतिविधि नियन्त्रण गर्ने गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त राखी तयारी अवस्थामा रहन समिति सरकारलाई निर्देशन गर्दछ ।’

समितिले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

घाइतेको उपचारका लागि आवश्यक प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =