उदाहरणीय कृषक भिमकान्त : कमाउँछन् वार्षिक १० देखि १२ लाखसम्म

कृषिमा युवालाई आकर्षित गर्नुपर्नेमा जोड

दाङ । घोराही उपमहानगरपालिका–१७ बाउन डाँडाका ६२ वर्षीय भिमकान्त चापागाई गोलभेँडा खेती गरी आर्थिक रूपमा सक्षम र सफल बनेका छन् । उनले पाँच विगाहा जमिनमा गोलभेँडा खेती गरी वार्षिक रूपमा १० देखि १२ लाख रूपैयाँ बचत गर्न सकेको बताए ।

व्यावसायिक गोलभेँडा खेतीबाट अब्बल किसानका रूपमा चिनिन सफल छन्,चापागाई । उनको गोलभेँडा खेती यो क्षेत्रकै नमूना पनि बनेको छ, जसले उपभोक्ता मात्र होइन देख्नेजति सबैलाई लोभ्याउने गर्दछ । उनको बारीमा अहिले लटरम्म फलेका गोलभेँडा कतै पाकेका छन्, केही पाक्ने तयारीमा छन् ।

त्यही गोलभेँडा खेतीले उहाँलाई एक सफल एवम् उत्कृष्ट किसानको परिचय दिएको छ । आफूलाई एक सफल कृषकका रूपमा स्थापित गर्न उनले धेरै मेहेनत पनि गरेका छन् । वि.सं. २०७५ मा रू ४ लाखको लगानीमा अरूको जमिन भाडामा लिएर सो खेती सुरू गरेको बताउने चापागाई अहिलेसम्म गोलभेँडा खेतीमा रू। २० लाखको हाराहारीमा लगानी गरेको बताए ।

जमिन भाडामा लिएर उहाँले उन्नत जातका गोलभेँडाका साथै अरू विभिन्न जातका बेमौसमी तरकारी खेती गरिरहेका छन् । वार्षिक प्रतिकठ्ठा तीन हजारका दरले उहाँले जमिनको भाडा तिर्नुपर्छ । उहाँको कृषि फारममा अहिले छ जनाले रोजगारी पनि पाएका छन् । उनले भने,सबै खर्च कटाएर बार्षिक १२ लाखसम्म बचत गर्न सकेको छु ।

उनकी श्रीमती पनि यसै व्यवसायमा लागेकी छन् । दुई छोरा भने कामका लागि जिल्ला बाहिर छन् । एक वर्षमा गोलभेँडा खेतीबाटै यति कमाई गर्न सक्नु सामान्य कुरा होइन । उनले भने, “म आफ्नो व्यावसायबाट सन्तुष्ट छु, खुसी छु । आफ्नै माटोमा खेलेको छु, माटोको माया बढ्दो छ ।” अहिले उनलाई बारीमै आएर ग्राहकहरूले गोलभेँडा खुर्सानी लगायतका तरकारी किनेर लग्दा आनन्द आउने गरेको सुनाछन् ।

बर्दियाको गेरूवा गाउँपालिका–३ पर्सेनीमा स्थायी घर रहेका उनको खेतीयोग्य जमिन पनि छ । पर्याप्त मात्रामा सिचाईंको सुविधा पुगेको छ तर बजार अभाव र तरकारी खेतीका लागि आवश्यक पर्ने तापक्रमका कारण आफू खेती गर्नका लागि यहाँ आएको बताए । उनले भने,“दाङमा धेरै नजिकका आफन्त रहेका र आफन्तहरूले गरेको गोलभेँडा तथा तरकारी खेती देखेपछि आफू यस खेतीतर्फ आकर्षित भई सुरूवात गरेको हुँ । सुरूमा घोराहीस्थित मसिनामा एक बिघा जमिन भाडामा लिएँ । त्यहाँ गोलभेँडा खेती गरेँ ।”

खेतीका लागि आवश्यक पर्ने जमिन अपुग भई साघुरो भएपछि त्यहाँ छाडेर विगत पाँच वर्षदेखि यस ठाउँमा खेती सुरू गरेको हुँ ।” उनले अन्य जातका तरकारी भन्दा गोलभेँडा खेतीबाट धेरै लाभ लिन सकिने र एकपटक रोपेपछि लामो समयसम्म फल्ने र आम्दानी लिन सकिने भएकाले धेरै जमिनमा गोलभेँडा खेती गरेको बताए ।

चापागाईले गोलभेँडासहित काँक्रो, खुर्सानी, बोडी, सिमी लगायतका तरकारी पनि लगाएका छन् । उत्पादन भएको तरकारी लिन फार्ममै थोक व्यापारीहरू पुग्ने गरेका छन् । उनले अहिले टमाटरको सिजन भएकाले प्रतिकेजी रू ३० मा बिक्री गर्नु परेको दुःखेसो पोख्नुभयो । यसअघि गोलभेँडा प्रतिकेजी रू. ९० देखि १०० सम्म बिक्री हुने गरेको थियो ।

उनको बारीको गोलभेँडा दाङका विभिन्न बजार, बुटवल, पोखरा, नेपालगञ्ज लगायतका शहरमा जाने गरेको छ । उनले कृषिप्रधान हाम्रो देशमा कृषिको अत्यन्तै राम्रो सम्भावना रहेको तर राज्य भने अझै पनि यस क्षेत्रका समस्या समाधानमा गम्भीर नभएको गुनासो गरे ।

कृषिमा देशको अर्थतन्त्रको ठूलो योगदान रहेको भए पनि पछिल्लो समयमा कृषि उत्पादन अथवा कृषिजन्य वस्तुहरू बाहिरबाट आयात गर्नु दुःखद हो, चापागाईंले भने । उनी नेपालमा तरकारी तथा कृषिजन्य उत्पादनहरू आयात गर्ने कामलाई निरूत्साहित गर्नुपर्ने सुझाव दिन ।

राज्यले समयमा नै कृषिलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउनुपर्ने यस क्षेत्रका दक्ष जनशक्ति विदेश पलायन भइरहेको अवस्थालाई रोक्नुपर्ने पनि उहाँले सुनाए ।

“देशभित्रै सीपमूलक कृषि कार्यक्रम सञ्चालन गर्नुपर्ने र विदेशिने युवालाई लक्षित गरेर स्वदेशमै रोक्न एकीकृत कृषि व्यवसाय फारम सञ्चालनमा ल्याउनु पर्दछ ।”

आफ्नै माटोमा पसिना र पौरख पोख्न सके सुन फल्छ भन्दै श्री चापागाईं बर्सेनि कामका लागि विदेशिने युवालाई आफ्नै माटोमा पसिना पोख्न सुझाउछन् । “हाम्रो धर्ती मलिलो छ, यहीँ रोपौँ जे पनि फल्छ, कामका लागि विदेशिनु पर्दैन ।”

सरकारले खेती किसान गर्ने मानिसलाई वातावरण निर्माण गरिदिन, आवश्यक ऋण सकेसम्म सस्तोमा दिन र उत्पादित वस्तुको बजार सुनिश्चित गरिदिन सरकारसँग उहाँले आग्रह पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =