खेलकुदमन्त्री र स्काउट आन्दोलनरत पक्षको वार्ता विफल

काठमाडौं । नेपाल स्काउट शुद्धीकरण अभियान र खेलकुदमन्त्री तेजुलाल चौधरीबिचको वार्ता विना निष्कर्ष टुङ्गिएको छ ।
आज शुक्रवार मन्त्रालयमा आन्दोलनरत पक्ष र खेलकुदमन्त्रीबिच छलफल भएको थियो । तर, छलफल बिना निष्कर्ष सकिएको हो ।
खेलकुदमन्त्रीले आन्दोलनरत पक्षलाई विना सर्त आन्दोलन रोक्न भनेका थिए । तर, आन्दोलनरत पक्षले आफूले राखेको माग पुरा हुनुपर्ने अडान लिएका थिए । खेलकुदमन्त्रीले कार्यकारी निर्देशक भट्टराईलाई निलम्बन गर्ने अधिकार आफूलाई नभएको बताएका थिए ।
खेलकुदमन्त्रीले ४ वटै मागलाई पुरा गर्न नसकिने बताएपछि आन्दोलनरत पक्षले निर्देशक भट्टराई छानबिनको दायरामै आउन नहुने कारण के हो ? भनेर प्रश्न गरेका थिए ।
त्यसपछि खेलकुदमन्त्रीले आन्दोलनरत पक्षको मागमा आफू सकारात्मक रहेको भन्दै आन्दोलन स्थगित गर्न आग्रह गरेको नेपाल स्काउट शुद्धीकरण अभियानका प्रवक्ता आसिक कार्कीले जानकारी दिए ।
खेलकुदमन्त्रीले मन्त्रालयमा आन्तरिक छलफल गर्ने र त्यसपछि निर्णय लिने बताएका प्रवक्ता कार्कीले बताए । ‘मन्त्रीले छलफलमा आन्दोलन स्थगित गरिदिनुस्, हामी मागबारे सकारात्मक छौँ, बसेर छलफल गरौँ भन्नुभयो,’ उनले भने, ‘हामी वार्ताका लागि तयार छौँ, तर, हाम्रो आन्दोलन स्थगित हुँदैन, तपाई आन्तरिक छलफल गर्दै गर्नुस् भनेर निस्कियौँ ।’
प्रवक्ता कार्कीले देशका उपप्रधान तथा गृहमन्त्रीमाथि छानबिन गर्न हुने तर, स्काउटका निर्देशकलाई किन छानबिन नगर्ने भनेर प्रश्न समेत गरे ।
उनले छलफलमा निर्देशक भट्टराईमाथि छानबिन हुनुपर्ने र छानबिनको अवधिमा निलम्बन गर्नुपर्ने माग राखिएको बताए ।
शुद्धीकरण अभियानले नेपाल स्काउटलाई जोगाउनका लागि थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।








