चुनाव कति पटक लड्न पाउने भन्ने विषयमा बहस गरौं : प्रकाश ज्वाला

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले लोकसेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्नेगरी कानुनी व्यवस्था गर्नु गलत भएको बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद ज्वालाले यस्तो बताएका हुन् । कुनैपनि नागरिकलाई परीक्षाबाट नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधानको भावनाविपरित भएको उनको भनाइ छ ।

संसदले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानुन बनाउन लागेको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको छ ।

सांसद ज्वालाले सरकारले रोजगारीको विकल्प पनि नदिने परीक्षामा प्रतिस्पर्धा गर्न पनि रोक्नु मौलिक अधिकारबाट वञ्चित गरेको बताए । उनले लोकसेवा लड्ने उमेर भएसम्म परीक्षा दिन पाउनुपर्ने माग राखे । उनले लोक सेवाको परीक्षा नभई राष्ट्रपति, प्रधानमन्त्री मन्त्री कति पटक हुन पाउने भन्ने विषयमा बहस गर्न जरुरी रहेको बताए ।

उनले भने ‘लोकसेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्नेगरी कानुनी व्यवस्था गरिँदै छ भने त्यो गलत छ । कुनै नागरिकलाई परीक्षा नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधानको भावनाविपरित छ । यसरी परीक्षाबाट नै वञ्चित गर्नु नेपाली युवाहरूलाई अझ बढी खाडी र मलेसियातिर धकेल्नु हो । सरकारले रोजगारीको विकल्प पनि नदिने परीक्षामा प्रतिस्पर्धा गर्न पनि रोक्ने, मौलिक अधिकारबाट वञ्चित गर्नु हो । त्यसकारण लोकसेवा लड्ने उमेर भएसम्म परीक्षा दिन पाउनु पर्दछ । राजनीतिक नियुक्ति कति पटक खान पाउने, चुनाव कति पटक लड्न पाउने र राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री कति पटक हुन पाउने विषयमा बहस गरौं ।’

उनले राजनीतिक नियुक्ति र चुनाव कति पटक लड्ने भन्ने विषयमा बहस गर्नुपर्ने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + nine =