तीनकुने र सुन्दरीजलमा टिपरले बाइकलाई हान्दा दुई जनाको मृत्यु


काठमाडौं । काठमाडौंमा टिपरका कारण भएको दुर्घटनाले दुई जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका कागेश्वरी मनहरा र शनिबार बिहान काठमाडौंको तीनकुनेमा भएको दुर्घटनामा दुई जनाले ज्यान गुमाएका हुन् ।
काठमाडौं महानगरपालिका ३२ तीनकुने गौरीगाउँमा शनिबार बिहान साढे चार बजे रा १ ख २६२२ नम्बरको टिपरले प्र३-०२ -००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । सो दुर्घटनामा घाइते भएका काभ्रेपलाञ्चोक पनौती ११ का सुकराम तामाङको मृत्यु भएको र काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ६ का रमेश तामाङ घाइते भएका छन् । दुर्घटनापछि फरार भएको टिपर विमानस्थल भन्सार कार्गाेभित्र भेटिएको र चालकको खोजी भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए ।
उता, कागेश्वरी मनहरा वडा नम्बर १ सुन्दरीजल स्थित बिपी चोकमा पनि टिपरकै कारण मोटरसाइकल चालकले ज्यान गुमाएका छन् । बा ५ ख ११६८ नम्बरको टिपरले एक बोलेरो गाडी टुचिन लगाएर तान्दै गरेकोमा सो गाडीमा बा ४८ प ३६४० नम्बरको मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक अनुज ढकालको उपचारको क्रममा नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो ।
टिपर चालक अशोक रोक्कालाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना शुक्रबार बेलुका साढे सात बजेको समयमा भएको हो । पछिल्लो एक महिनायता काठमाडौंमा टिपरका कारण दुर्घटना बढेको छ ।
