परिवर्तन उल्टाउन खोज्नेलाई छुट दिइँदैन, भण्डाफोर अभियान चलाउछौँ : प्रचण्ड

लुम्बिनी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन उल्टाउन खोज्नेलाई छुट नदिइने बताएका छन् । उनले त्यस्ता विरुद्ध सडकबाट भण्डाफोर अभियान चलाउने समेत बताए ।

बधबार बुटवलमा आयोजित मगर मुक्तिमोर्चाको छैटौँं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालले विगतमा नागरिकसँगका सम्बन्ध केही कमजोर भएकाले त्यसलाई सुधारेर जाने प्रतिबद्धता जनाए ।

उनले विगतका निर्वाचनमा एमाले र कांग्रेससँग गठबन्धन गर्दा गल्ती गरिएको स्वीकार गर्दै जनतासँग माफी माग्न मैदानमा आएको बताए । “माओवादीले अब पहिले गरेका गल्ती कमजोरी दोहोर्‍याउँदैन”, उनले भने, “जनतासँग माफी मागेर सरकारका गलत कामको खबरदारी गरिरहने हो ।”

अध्यक्ष दाहालले अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी ‘एजेन्डा’मा जानु उचित रहेको उल्लेख गर्दै कसैले पनि प्रतिगमनबारे नसोच्न चेतावनी दिए ।

पार्टीले गरेको जनयुद्ध उत्पीडित समुदायको मोर्चाबाटै सफल भएको बताउँदै उहाँले ती समुदायप्रति उच्च सम्मान व्यक्त गरे । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले कार्यशैलीका कारण निरङ्कुशतन्त्रले प्रहार गर्न खोजेको बताए । उनले हालका सबै परिवर्तनको आधार माओवादी जनयुद्ध रहेको जिकिर गरे ।

कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनालले राजतन्त्रले टाउको उठाउन खोजेकाले सबै क्रान्तिकारी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + nineteen =