चलचित्र ‘अञ्जिला’ लाई उत्साहजनक शो, अग्रिम टिकट बिक्री सुरु


काठमाडौँ । होलीको दिन पार्दै बिहीबार रिलिज हुन लागेको नेपाली चलचित्र ‘अञ्जिला’ को अग्रिम बुकिङ सुरु भएको छ ।
सोमवार काठमाडौंमा भएको प्रिमियरबाट प्राप्त व्यापक सकारात्मक प्रतिक्रियापछि चलचित्र हलहरू पनि उत्साहित देखिएका छन् । अघिल्लो हप्ता रिलिज भई सफल प्रदर्शन भइरहेको ‘होस्टेल ३’ तथा सँगै रिलिज हुने अन्य चलचित्रहरूका बाबजुद हलहरूले राम्रो सङ्ख्यामा शो उपलब्ध गराएका छन् ।
बुधवार बिहानसम्म ११० बढी शो प्राप्त गरेको ‘अञ्जिला’ साँझसम्ममा केही शो बढ्ने अनुमान गरेको निर्देशक मिलन चाम्सले बताए ।
‘प्रिमियरमा दर्शकले देखाएको उत्साह र प्रशंसा हेर्दा हामी निकै सकारात्मक छौँ,’ निर्देशक चाम्सले भने, ‘शो सङ्ख्या भन्दा पनि प्राप्त शोहरूमा दर्शकको उपस्थिति र प्रतिक्रिया प्रमुख कुरा हो ।’ ‘अञ्जिला’ लाई मल्टिप्लेक्सहरूमा मात्र होइन, सिङ्गल स्क्रिन हलहरूबाट पनि राम्रो शो प्राप्त भएको उनले बताए । रिलिजको दिन फागु पूर्णिमा परेको कारण दिउसोदेखि मात्र अधिकांश हल चल्ने भएकाले शुक्रवारदेखि शो सङ्ख्या उच्च हुने उनले बताए ।
चलचित्रमा एञ्जिला तुम्बापो सुब्बाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । मुख्य भूमिकामा एञ्जिला आफैँले अभिनय गरेकी छन् भने अन्य कलाकारहरूमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका छन् । चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको हो ।
निर्देशक चाम्सले नेपाली स्रोत र साधनको अधिकतम उपयोग गर्दै खेलकुदमा आधारित चलचित्र निर्माण गर्नु चुनौतीपूर्ण भए पनि ‘अञ्जिला’ले फरक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । निर्माता प्रेमकुमार श्रेष्ठले खेलकुदमा लाग्नेलाई चलचित्रले प्रेरित गर्नेमा आशा व्यक्त गर्दै, एञ्जिलाको सङ्घर्षको कथा चलचित्रको पटकथाभन्दा कम नभएको बताए ।
चलचित्रको हङकङ, कोरिया, बेलायत, अमेरिका, अस्ट्रेलिया, जापान र नेपालमा धरान र काठमाडौंमा प्रिमियर गरिएको थियो । हलमा प्रदर्शनअघि नै प्रिमियर शो हरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको ‘अञ्जिला’ले हलमा हेर्ने दर्शकहरूबाट पनि उत्साहजनक समर्थन पाउने अपेक्षा गरिएको छ ।
