खबर दिनभर : सरकारकै कारण राजावादी सक्रिय,गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले वृहत् प्रदर्शन गर्ने

मुलुकको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सबै राजनीतिक दलबीच सहकार्य आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षाका क्षेत्रमा देखिएका नयाँ नयाँ आयामहरुलाई मनन् गर्दै देखा पर्न सक्ने चुनौतीको सामना गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको २४ औँ वार्षिकोत्सवका अवसरमा सिंहदबारमा मंगलबार आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष प्रधानमन्त्री ओलीले परम्परागत सुरक्षा चुनौतीका अतिरिक्त सूचना र प्रविधिको द्रूत विकाससँगै यसको दुरुपयोगका कारण उत्पन्न साइबर अपराध, अन्तरदेशीय अपराध, जलवायु परिवर्तन, लागु औषध दुर्व्यसन, सामाजिक सञ्जालको दुरुपयोगजस्ता कारणले राष्ट्रिय सुरक्षालाई संवेदनशील बनाउने उल्लेख गरे ।

उनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा विभिन्न नयाँ आयाम र नवीन प्रवृत्तिहरू देखा पर्न थालेका र यसबाट राष्ट्रिय सुरक्षामा के कस्ता असर, प्रभाव र चुनौतीहरू सिर्जना हुन सक्ने भएकाले समयमै आँकलन तथा विश्लेषण गरी तदनुसार उपयुक्त रणनीति तय गर्न आवश्यक हुने बताए ।

प्रधानमन्त्री ओलीले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्तता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सम्बन्धित निकाय, राजनीतिक दललगायत सबैले एकापसमा उचित समन्वय र सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको जोड दिँदै राष्ट्रिय सुरक्षाको सन्दर्भमा ‘होल अफ द नेशन’ को अवधारणा अनुसार काम गर्न आवश्यक रहेको बताए ।

नेपालको संविधान भाग २८ मा राष्ट्रिय सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ । उक्त भागको धारा २६६ को उपधारा ९१० मा नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि नेपाल सरकार, मन्त्रिपरिषदलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा परिषद् गठनको प्रबन्ध गरिएको छ ।

वि.सं.२०५८ साल फागुुन २७ गतेबाट राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको स्थापना भएको थियो । सचिवालयले राष्ट्रिय सुरक्षा परिषद्को कार्यलाई सहजीकरण गर्ने, आवश्यक राय सुझाव दिने तथा सुरक्षा विश्लेषण प्रतिवेदन तयार गर्ने कार्यहरु गर्दै आइरहेको छ ।

विद्यार्थी पलायन हुने हैन, देश बनाउन लाग्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आमयुवा विद्यार्थीलाई पलायन हुने नभइ देश निर्माणमा लाग्न आग्रह गरेका छन् ।

मंगलबार पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कुलपति ओलीले देश र जनताका लागि ईमान्दारीपूर्वक सेवा गर्नुपर्नेमा जोड दिए ।

उनले विश्वविद्यालयमा आर्जेको ज्ञान देशकै हितमा लगाउनुपर्ने र त्यसका लागि सहज वातावरण बनाउन सरकारले सम्पूर्ण रूपमा प्रयत्न गरिरहेको बतए ।

प्रधानमन्त्री ओलीले विश्वविद्यालयको विकासका लागि सङ्घीय सरकारको पूर्ण साथ र सहयोग रहने बताए । दीक्षान्त समारोहमा आठ हजार एक सय ५० विद्यार्थी दीक्षित भएको विश्वविद्यालयका सूचना अधिकारी टेकप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार कला सङ्कायतर्फ दुई सय चार, कानुनतर्फ चार सय ९७, शिक्षाशास्त्रतर्फ नौ सय छ, व्यवस्थापनतर्फ दुई हजार २४९, चिकित्साशास्त्रतर्फ दुई हजार १९८, विज्ञान तथा प्रविधि सङ्कायतर्फ छ य ५४ तथा इञ्जिनियरिङतर्फ एक हजार ४४२ विद्यार्थी दीक्षित भएका छन् ।

सरकारको दुई तिहाइको घोडा बिचौलियाहरूले चलाइरहेका छन् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार प्रधानमन्त्री र मन्त्रीहरूले नभई बिचौलियाहरूले चलाइरहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारका सबै नियुक्ति र निर्णयमा बिचौलियाहरूको हस्तक्षेप रहेको बताएका हुन् । उनले पछिल्लो आठ महिनामा बिचौलियाको प्रभावबिना गरेका निर्णय र नियुक्ति देखाउन सरकारलाई चुनौती समेत दिए । अध्यक्ष दाहालले वर्तमान सरकारको ड्राइभिङ सिटमै बिचौलिया रहेको आरोप लगाए ।

उनले भने ‘सरकारको दुई तिहाइको घोडा सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले चलाएको मैले चाहिँ देखेको छैन । त्यो घोडा बिचौलियाहरूले चलाएका छन् । तपाईँहरूले गर्ने नियुक्ति, तपाईँहरूले गर्ने सेटिङ तपाईँहरूले गरेको मैले त देख्दिन ती त बिचौलियाहरूले उनीहरुले निर्णय गरेअनुसार भएको देखेको छु । म चुनौतीका साथ भन्न चाहन्छु पछिल्लो आठ महिनामा एउटै नियुक्ति, एउटै, नीति र एउटै निर्णय मलाई भनिदिनुस् जसका पछाडि बिचौलिया छैन । जम्मा एउटा उदाहरण दिए मात्र हुन्छ । सत्ताको ड्राइभिङ सिटमै बिचौलिया छ ।’

उनले वर्तमान सरकार संसदको बलमिच्याँइ र संविधानको अपहेलनाबाट बनेको आरोप समेत लगाए ।

सरकारको शासकीय शैलीका कारण राजावादीहरू सक्रिय भए : प्रचण्ड

पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादी सक्रिय हुनुको पछाडि सरकारको शासकीय शैली र त्यसबाट उत्पन्न भएको असन्तोष रहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको मङ्गलवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले राजावादीहरू सक्रिय हुनुको पछाडि सङ्गठित प्रयास रहेको आशंका व्यक्त गरे । उनले व्यवस्था उल्ट्याउनका लागि देशभित्र र देशबाहिरका चलखेलहरू समेत मिसिएको बताए ।

उनले नेपालमा शान्ति प्रक्रिया मात्र नभई गणतन्त्रको इतिहास समेत मौलिक र उदार रहेको बताए ।

उनले भने ‘राजावादीका पछि सङ्गठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र देश बाहिरका चलखेल पनि मिसिएका छन् । तर यस खालका चलखेल आज मात्र भएका होइनन् । नेपालमा यस्ता खालका चलखेलहरू हिजो पनि थिए, अस्ति पनि थिए । तर अहिले किन वृद्धि भयो मुख्यतः प्रश्न यहाँनिर रहेको छ । पछिल्लो आठ महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण हो भनेर बुझ्न अब कठिनाइ छैन । आज म चेतावनीका साथ भन्न चाहन्छु नेपालको शान्ति प्रक्रिया मात्र होइन गणतन्त्रको इतिहास पनि बडो मौलिक र निकै उदार रहेको छ । संसारभरिको गणतन्त्रको इतिहासमा राजतन्त्रको रगतले गणतन्त्र लेखिएको पाइन्छ । तर नेपाल त्यसको अपवाद बन्यो ।’

उनले पूर्वराजाको सुरक्षासहित ल्याइएको गणतन्त्रमाथि प्रहार गर्न खोजिए अबको क्रान्ति निकै निर्मम हुने समेत चेतावनी दिए ।

राजावादी सलबलाएपछि गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले प्रदर्शन गर्ने

समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । आगामी चेत्र १५ गते काठमाडौंमा गणतन्त्रत्रको पक्षमा प्रदर्शन गरिने भएको हो ।

मंगलबार बसेको समाजवादी मोर्चाको बैठकले यस्तो निर्णय लिएको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए । त्यसअघि आगामी चैत १ गते बिहान वुद्धिजिवी र नागरिक समाजसँग परामर्श र छलफलको कार्यक्रम तय भएको पनि उनले बताए ।

राजावादीहरु सलबलाएपछि समाजवादी मोर्चाले प्रदर्शन गर्न लागेको हो । यसअघि समाजवादी मोर्चाले चैत्र २४ गते प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।

देउवा लक्षित गगनको टिप्पणी – जनआक्रोशलाई केही होइन भन्ने अहंकार कसैले राख्न हुँदैन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सडकमा देखिएको जनआक्रोशलाई केही होइन भन्ने अहंकार कसैले पनि राख्न नहुने बताएका छन् ।

सभापति शेर बहादुर देउवालाई लक्षित गर्दै मंगलबार प्रतिनिधि सभाकोको बैठकमा थापाले यस्तो बताएका हुन् । थापाले जनताको आक्रोशलाई नजरअन्दाज गर्न नमिल्ने उल्लेख गर्दै असन्तुष्ट पक्षसँग संवाद गर्नुपर्ने बताए ।

उनले वर्तमान सरकार गठन भएपछि मात्र जनता आक्रोशित भएको प्रतिपक्षीको आरोपको समेत खण्डन गरे । उनले संविधान जारी भएपछि सबैभन्दा बढी समय नेकपा (माओवादी केन्द्र) नै सरकारमा रहेको उल्लेख गर्दै यसको मुख्य जिम्मेवार माओवादी भएको जिकिर गरे ।

कांग्रेस सभापति देउवाले केही दिनअघि धनगढीमा आयोजित कार्यक्रममा राजावादीले काठमाडौंमा गरेको प्रदर्शनलाई केही नभएको भन्दै प्रतिक्रिया दिएका थिए ।

राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै असान्दर्भिक छ : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थामा राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै असान्दर्भिक भएको बताएका छन् ।

काठमाडौंमा हुलाक सेवा विभागले आज आयोजना गरेको हुलाक टिकटमा टाँचा प्रदान कार्यक्रममा मन्त्री गुरुङले वैज्ञानिक, लोकतान्त्रिक, मानवअधिकारलगायत थुप्रै पक्ष नियाल्दा पनि राजतन्त्र आउने सम्भावना नरहेको प्रष्ट पारे ।

सामन्तवादीको आडमा अडिएको राजतन्त्र हटाएर जनताले लोकतन्त्र ल्याएको इतिहास स्मरण गराउँदै मन्त्री गुरुङले राजाको नाममा मैदानमा उत्रिने नेताहरु लोकतन्त्र विरोधी भएको उल्लेख गरे ।

राजदरबार हत्याकाण्डपछि क्रमबद्ध राजकुमार दीपेन्द्रको निधन भएलगत्तै नेपालमा राजवंशीय सत्ता विधिवत् रुपमा समापन भएको तर्क गर्दै मन्त्री गुरुङले भने,“कुशले बनेका राजा बोकेर हिँड्नु नैतिकताले सुहाउँदैन ।”

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले संसद्मा रहेको सामाजिक सञ्जालन नियमनसम्बन्धी बनेको विधेयक ल्याउन अत्यन्त जरुरी रहेको धारणा राखे । समाज व्यवस्थित गर्न र अराजकताबाट जोगाउन विधेयक आवश्यक रहेको उनले जोड दिए ।

सो अवसरमा मन्त्री गुरुङले नेपालको राजनीतिक, शैक्षिक रुपान्तरणमा योगदान पुर्‍याउनुभएका चिनियालाल सिंह र नारदमुनि थुलुङको प्रथम हुलाक टिकट आवरणमा टाँचा प्रदान गर्नुभएको थियो ।

साथै मन्त्रालयले यो वर्षभित्र सुरक्षण मुद्रण केन्द्रमार्फत स्वदेशमै सुरक्षासम्बन्धी सम्पूर्ण कागजात छाप्ने तयारीमा रहेको उनले जानकारी दिए । सुरक्षण मुद्रण केन्द्रको प्रमुख कार्यकारी अधिकृतसहित कर्मचारीको व्यवस्थापन गर्दै मन्त्रालयले छापाबाट राज्यको राजस्व सुरक्षित गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गरे।

त्यस्तै, कार्यक्रममा प्रतिनिधिसभा सदस्य हेमराज राईले हुलाक टिकटमार्फत राज्यलाई सुमार्ग निर्देशन गर्ने दुई व्यक्तित्वको इतिहास संरक्षण गर्नु प्रशंसनीय कार्य रहेको बताए ।

सञ्चार सचिव राधिका अर्यालले हुलाक टिकट मात्रै कागजको टुक्रा नभई मुलुकको महत्त्वपूर्ण दस्तावेज रहेको सुनाए । यसको लागि मन्त्रालयले विभागमार्फत नविन र लोपोन्मुख पक्षलाई खोजेर टिकटमा सुरक्षित गर्न उनले आग्रह गरे ।

विभागका महानिर्देशक मनमाया पङ्गेनी भट्टराईले विभिन्न कालखण्डमा समाज रुपान्तरणमा योगदान पुर्‍याएका व्यक्तित्वदेखि सांस्कृतिक, इतिहासिक महत्त्व बोकेका विषय समेटेर विभागले टिकट प्रकाशन गर्दै आएको जानकारी दिए। उनले सूचनाप्रविधिको बढ्दो प्रयोगका कारण हुलाक सेवा विभागले चुनौती भोग्नुपरेको उल्लेख गरे ।

प्रतिनिधिसभा बैठकको विशेष समय : कसले के भने ?

प्रतिनिधिसभाको बैठक मंगलबार विशेष समयमा बोल्दै सांसदहरूले काम प्रभावकारी तथा नतिजामुखी बनाउनुपर्नेमा जोड दिएको छ । सांसद प्रेम सुवालले युवालाई सम्बोधन गर्न विद्यालय शिक्षा तथा विश्वविद्यालय शिक्षा निःशुल्क गर्न जरूरी रहेको बताए । सांसद चित्रबहादुर केसीले २०४६ सालपछि राजनीति गर्ने र सत्तामा बस्नेको सम्पत्ति छानबिन हुनुपर्ने र उनीहरूले गरेको लुटलाई उचित कारबाही गर्नुपर्ने बताए ।

सांसद प्रभु साहले विदेशी एप्सले नेपालबाट खर्बौं रूपैयाँ लगिरहेको भन्दै नेपली एप्स विकास गर्नलाई सरकारलाई ध्यानाकर्षण गराए । उनले सामाजिक सञ्जालको नियन्त्रणभन्दा नियमनमा बढी जोड दिनुपर्ने बताए ।

सांसद डा.अमरेशकुमार सिंहले देशमा हाल लोकतन्त्रभन्दा पनि नेतातन्त्र हावी रहेको बताए । उनले नेतातन्त्रको संरक्षणमा भ्रष्टाचारी र विचौलिया रहेको भन्दै जनताको पक्षमा काम गरिनुपर्ने बताए ।

सांसद सूर्यबहादुर थापा क्षेत्रीले अहिलेको अवस्था आउनुमा अघिल्ला सरकार पनि उत्तिकै जिम्मेवार रहेको बताउँदै पूर्वराजाको पक्षमा भइरहेको प्रदर्शन संविधान विरोधी रहेको र राजतन्त्र असन्तुष्ट पक्षले हुइँया मच्चाउँदैमा नफर्किने धारणा राखे ।

सांसद छिरिङ ल्हामु लामा (तामाङ) ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनताले निर्माण गरेको संविधानअनुसार नयाँ पार्टी खोलेर निर्वाचन प्रणालीमा आउन चुनौती दिनुभयो । उहाँले राजतन्त्र फर्कन अब असम्भव रहेको स्पष्ट पार्दै निर्वाचन प्रणालीमा आउन चुनौती दिएका हुन् ।

सांसद सुमना श्रेष्ठले अनिवार्य तथा निःशुल्क शिक्षा ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिए । “विद्यालय शिक्षामा मुनाफा कमाउ भन्न सरकारलाई सुहाउँछ ? विद्यार्थीलाई सुरक्षित वातावरणमा पढ्ने वातावरण बनाउनुपर्छ,” उनले भने,“सरकारी शिक्षालय तोडफोड गर्ने विद्यार्थीलाई किन कारबाही हुँदैन ?”

सांसद भगवती चौधरीले महिलामाथि हुने हिंसा अन्त्य हुनुपर्नेमा जोड दिइन् । उनले भनिन्,“जनताले के पाएका र जनताले के पाउन बाँकी छ ? छलफल गरौन”, उनले भनिन्, “सरकारलाई मात्रै गाली गरेर हुँदैन । मिलेर अगाडि बढ्नुपर्छ ।”

आगामी बजेटबारे अर्थले गर्‍यो कृषि मन्त्रालयसँग छलफल

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग छलफल भएको छ । अर्थ मन्त्रालयमा भएको छलफलमा कृषि क्षेत्रमा उपलब्ध गराइने अनुदान र सहुलियतलाई कसरी व्यवस्थित एवं प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे छलफल भएको हो ।

बैठकमा हाल कार्यान्वयनमा रहेका अनुदान कार्यक्रमबारे गम्भीर समीक्षा गरी नयाँ ढङ्गले अघि बढ्ने र नतिजामुखी बनाउने विषयले प्राथमिकता पाएको थियो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले किसानलाई प्रोत्साहन गर्न र उत्पादन बढाउन अनुदानका कार्यक्रम ल्याइए पनि तिनको समीक्षा गरी समय सान्दर्भिक र प्रतिफलमुखी बनाउन जरूरी रहेको बताए ।

कृषिमन्त्री रामनाथ अधिकारीले अनुदानलाई परिणाममुखी बनाउँदै उत्पादन वृद्धि र कृषिवस्तुमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिए ।

कृषि मन्त्रालयले रासायनिक मल, बाली तथा पशुपक्षी बिमाको प्रिमियम अनुदान, उखुखेती प्रवर्द्धनका लागि किसानलाई प्रोत्साहनलगायत अनुदान सहयोग दिँदै आएको छ । अर्थ मन्त्रालयका अनुसार यस्तो अनुदान तथा सहुलियतका लागि चालु आवमा करिब रु ३६ अर्ब विनियोजन गरिएको छ ।

छलफलमा सहभागीले अनुदानलाई उत्पादन प्रोत्साहनसँग जोड्नुपर्ने धारणा व्यक्त गरेका थिए । संवैधानिक जिम्मेवारीअनुसार प्रदेश र स्थानीय तहको क्षेत्राधिकारसँग मिल्ने तर सङ्घीय तहबाट हाल कार्यान्वयनमा रहेका निश्चित कार्यक्रमलाई तल्लो तहका सरकारमा पठाउनुपर्नेमा छलफलका सहभागीले जोड दिएका थिए ।

छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थ सचिव, कृषि सचिव, विभागीय प्रमुखलगायतको उपस्थिति थियो ।

यसअघि अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, स्वास्थ्य तथा जनसङ्ख्या, उद्योग, वाणिन्य तथा आपूर्ति, खानेपानीलगायत मन्त्रालयसँग छलफल गरिसकेको छ ।

डा.तोसिमा कार्कीको सांसद पद जोगियो

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीको सांसद पद जोगिएको छ । कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसंगै उनको सांसद पद जोगिएको हो ।

न्यायाधीशहरू डा।मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो ।

सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण कार्कीको उम्मेदवारी यथावत भएको थियो । उनी प्रतिनिधि सभाका लागि ललितपुर–३ बाट निर्वाचित भएकी थिइन् ।

रोल्पाका पूर्ववडाध्यक्ष बुढाथोकीको रसियामा निधन

रोल्पाको सुनछहरी गाउँपालिका(५ जैमाकसलाका पूर्व वडाध्यक्ष तीर्खबहादुर बुढाथोकी रसिया र युक्रेनको युद्धमा मृत्यु भएको छन् । रुस(युक्रेन युद्धमा परी बुढाथोकीको मृत्यु भएको भनेर फागुन २४ गते खबर आएको हो ।

तीर्खबहादुरको मृत्युको खबरले परिवार शोकमा डुबेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष पदमा निर्वाचित भएका बुढाथोकी २०७९ सालमा पुनः उम्मेदवार बने पनि पराजित भए । त्यसपछि उनी रोजगारीको खोजीमा रसिया गएका थिए ।

पारिवारिक स्रोतका अनुसार, २०८० असोजमा बुढाथोकी रसियन सेनामा सामेल भएका थिए । युद्धका कारण उनले आफन्तसँग बेला(बेला फोन र फेसबुक म्यासेन्जरमार्फत कुराकानी गर्ने गर्थे । तर, फागुन २४ गते उनका परिवारले उनको मृत्युको खबर पाए । यद्यपि, उनको मृत्युको यकिन मिति अझै अज्ञात छ ।

बुढाथोकीले घर फर्कने इच्छा व्यक्त गर्दै आएका थिए । तर, अन्ततः उनी युद्धको शिकार बने । उनको मृत्युको खबर सोमबार सामाजिक सञ्जालमार्फत व्यापक भएको थियो । पूर्व वडाध्यक्ष एवं नेकपा एमालेका स्थानीय नेता रहेका बुढाथोकीको असमयिक निधनले यहाँका राजनीतिज्ञ, जनप्रतिनिधि तथा नागरिक समाज स्तब्ध बनेका छन् ।

सुनछहरी गाउँपालिकाका पूर्व अध्यक्ष आशबहादुर पुनले बुढाथोकीसँग पाँच वर्ष सहकार्य गरेको स्मरण गर्दै घटनालाई अत्यन्त दुःखद बताए । परिवारमा बुढाथोकीका बुबा(आमा, पत्नी, एक छोरा र एक छोरी रहेका छन् । उनका दाजु खगेन्द्रका अनुसार, तीर्ख अवैध तरिकाले रसिया गएका थिए । अब उनको शव फिर्ता हुने सम्भावना कम रहेकाले परिवारले कुशको शव बनाई अन्त्येष्टि सम्पन्न गरेका छन् । ‘अब आश गरेर बस्ने कुरा भएन, हामीले हिजैबाट काजकिरिया थालिसक्यौं,’ खगेन्द्रले भने ।

बुढाथोकी द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत थिए । तर, माओवादीको प्रभाव रहेको क्षेत्रमा असुरक्षाको महसुस गर्दै उनका अभिभावकले उनलाई जागिर छोड्न सुझाव दिएका थिए । त्यसपछि उनी गाउँमै बसेका थिए । २०६३/०६४ मा अवैध रूपमा इराक जान खोज्दा पक्राउ परेका बुढाथोकी पछि रसिया पुगेका थिए । तर, त्यहीँ युद्धमा उनको ज्यान गएको छ ।

नेप्से परिसूचकमा ३२ अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव २१ अङ्कले घटेको छ । पुँजीबजार कारोबार पछिल्लो सात दिनमा लगातार घट्दो क्रममा देखिएको हो ।

आज नेप्से परिसूचकमा एक दशमलव १७ प्रतिशतको गिरावट पछि दुई हजार सात सय १९ दशमलव २० को बिन्दुमा कायम भएको छ ।

आज तीन सय तीन कम्पनीको एक करोड ५५ लाख ५९ हजार छ सय ८३ कित्ता शेयर ९२ हजार ३१ पटक खरिदबिक्री हुँदा आठ अर्ब ३९ करोड ११ लाख ४९ हजार बराबरको कारोबार भएको छ ।

आज विकास बैङ्क समूह एक दशमलव ९३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ७१, वित्त एक दशमलव ५७, होटल तथा पर्यटन एक दशमलव १३, जलविद्युत् एक दशमलव ५१, लगानी एक दशमलव ८९ र जीवन बीमा समूह एक दशमलव ३० प्रतिशतले घटेको छ ।

त्यसैगरी, उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ४९, लघुवित्त शून्य दशमलव ८९, म्युचुअल फन्ड शून्य दशमलव १०, निर्जीवन बीमा शून्य दशमलव ९९, व्यापार समूह एक दशमलव ७९ र अन्य समूह एक दशमलव ६८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ५८ करोड ६५ लाख १७ हजार बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै महालक्ष्मी विकास बैङ्क लिमिटेडको नौ लाख ९१ हजार चार सय ४४ कित्ता शेयर किनबेच भएको छ ।

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला पाँच सय र चाँदी प्रतितोला १५ ले घटेको हो ।

सोमबार प्रतितोला एक लाख ७० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ६९ हजार नौ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी, आज एक तोला चाँदी एक हजार नौ सय ७० मा किनबेच हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार आठ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रधानमन्त्री कप क्रिकेट : मधेसद्वारा कोशी प्रदेश पराजित

भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले कोशी प्रदेशलाई १६५ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

जारी प्रतियोगितामा मधेसको यो पहिलो जित हो भने कोशीको यो दोस्रो हार हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेस प्रदेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८४ रन बनायो ।

दुई सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा कोशी प्रदेशको पारी ३३ ओभरमा ११९ रनमा समेटियो ।

मधेस प्रदेशका लागि कप्तान अनिल साह, पवन सर्राफ र दीपेश दासले उत्कृष्ट खेल प्रदर्शन गरे । तीनै जनाले अद्र्धशतकीय पारी खेले ।

अनिलले ७५ बलमा १० चौकाको मद्दतमा ७५ रन बनाए । यस्तै पवनले ८५ बलको सामना गर्दै दुई छक्का र ११ चौकाको सहयोगमा ९२ रन बनाए ।

दीपेशले ६० बल खेल्दै एक छक्का र ७ चौकाको सहयोगमा अविजित ५६ रनको योगदान दिए । हरिशङ्कर साहले २९ रन बनाए ।
बलिङतर्फ कोशी प्रदेशका प्रकाश कार्की र विपिन महतोले दुई दुई तथा फिरदोस अन्सारी र दीपेश कँडेलले एक विकेट लिए । बयानब्बे रन बनाएका पवन खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए ।

यसैगरी कोशीका लागि ब्याटिङ गर्ने क्रममा साकिब हकले २५, सुजन थपलियले २४, फिर्दोश अन्सारीले २१ र दीपेश कँडेलले २० रन बनाए ।

बलिङतर्फ मधेस प्रदेशका रुपेश सिंह एक्लैले ५ विकेट लिए । यस्तै राजेश यादवले तीन तथा हरिशङ्कर साह र प्रदीप पासवानले एक एक विकेट लिए ।

सिद्धार्थ क्रिकेट रङ्गशालामा बुधवार त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबिच खेल हुनेछ ।

गाजामा इजरायली आक्रमणमा चार जनाको मृत्यु

गाजा पट्टीमा विगत एक दिनमा इजरायली आक्रमणमा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएको प्यालेस्टिनी एन्क्लेभका स्वास्थ्य अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

स्वास्थ्य अधिकारीहरूले आक्रमणको स्थान खुलाएका छैनन् । प्यालेस्टिनी मिडियाले मङ्गलबार मध्य गाजाको नेत्जारिम करिडोरमा ड्रोन आक्रमण भएको रिपोर्ट गरेको छ ।

आधिकारिक प्यालेस्टिनी समाचार एजेन्सी वाफाले पनि गाजा शहरमा इजरायली बमबारी, दक्षिणी गाजा पट्टीको खान युनिसको पूर्वमा नागरिकहरूलाई लक्षित गरी हवाई आक्रमण र रफाह शहरको पूर्वमा अल–शौका सहरमा इजरायली आक्रमणहरू रिपोर्ट गरेको छ ।

इजरायली सेनाका प्रवक्ताले एक विज्ञप्तिमा उल्लेख गर्नुभयो,“मध्य गाजामा प्यालेस्टिनी लडाकूहरू विरुद्ध ड्रोन आक्रमण गरिएको थियो,जब आईडीएफ ९इजरायल रक्षा बल० सेनाको लागि खतरा पैदा गर्ने शङ्कास्पद गतिविधिमा संलग्न धेरै लडाकूहरू पहिचान गरिएको थियो ।

मार्च १ मा युद्धविराम सम्झौताको पहिलो चरणको म्याद सकिएपछि प्यालेस्टिनी क्षेत्रहरूमा इजरायली आक्रमणहरूको लगभग दैनिक रूपमा भइरहेको छ । स्थायी युद्धविराम सुनिश्चित गर्ने अर्को चरणको वार्ता अझै रोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =