सरकारले शासन सञ्चालनमा पक्षपात गरेको नेकपा एसको आरोप

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले मुलुकमा भ्रष्टाचार संस्थागत हुँदै गएका कारण राजावादीहरू सलबलाउन थालेको टिप्पणी गरेका छन् ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद पाण्डेले वर्तमान सरकारले समेत नयाँपन दिन नसकेका कारण प्रतिगमनकारीहरू सक्रिय भएको आरोप लगाए ।
उनले भ्रष्टचारीहरुलाई कारबाही गर्न वर्तमान सरकार पूर्णतः असफल भएको बताए । सरकारले शासन सञ्चालनमा पक्षपात गर्दै रवि लामिछानेलाई जिल्ला घुमाउने काम गरिएको सांसद पाण्डेको आरोप छ । उनले लामिछानेको जस्तै मुद्दामा काँग्रेस उपसभापति र एमाले सांसदहरूलाई कुनै कारबाही नगरिएको जिकिर गरे ।
उनले भने ‘राजावादीहरू सलबलाउनुमा सत्तामा बस्नेहरूले सुशासन दिन नसकेको, दुई तिहाइको सरकारले पनि नयाँपन दिन नसकेको, भ्रष्टाचार संस्थागत हुँदै गएको, भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीहरूलाई कारबाही गर्न सरकार पूर्णतः असफल हुँदै गएको, भ्रष्टाचारका एकपछि अर्को घटनामा मन्त्री, कर्मचारी र उच्चपदस्थ व्यक्ति, सरकारद्वारा नियुक्त विभिन्न संस्थानका प्रमुख मुछिँदै गएको, शासन सञ्चालनमा व्यापक पक्षपात भएको, सहकारी ठगी आरोपमा यसै संसदका सांसद रवि लामिछानेलाई झन्डै ९० दिन विभिन्न जिल्ला डुलाउँदै अपमान र यातना दिने काम गरियो तर यस्तै आरोपमा मुछिएका कांगे्रस उपसभापति र नेकपा एमालेका सांसदलाई कुनै कारबाही भएन । यी सबैलाई मुद्दा नचल्ने बन्यो । रवि लामिछानेलाई मुद्दा चल्ने अरूलाई नचल्ने देखियो । सत्तापक्षलाई एउटा कानुन र सत्ता बाहिरको लाई अर्को कानुन जस्तै भयो ।’
वर्तमान सरकारले सत्तापक्षको लागि एउटा कानुन र प्रतिपक्षको लागि अर्को कानुन कार्यान्वयन गरेजस्तो देखिएको टिप्पणी गरे ।








