सरकारको दुई तिहाइको घोडा बिचौलियाहरूले चलाइरहेका छन् : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार प्रधानमन्त्री र मन्त्रीहरूले नभई बिचौलियाहरूले चलाइरहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारका सबै नियुक्ति र निर्णयमा बिचौलियाहरूको हस्तक्षेप रहेको बताएका हुन् । उनले पछिल्लो आठ महिनामा बिचौलियाको प्रभावबिना गरेका निर्णय र नियुक्ति देखाउन सरकारलाई चुनौती समेत दिए । अध्यक्ष दाहालले वर्तमान सरकारको ड्राइभिङ सिटमै बिचौलिया रहेको आरोप लगाए ।

उनले भने ‘सरकारको दुई तिहाइको घोडा सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले चलाएको मैले चाहिँ देखेको छैन । त्यो घोडा बिचौलियाहरूले चलाएका छन् । तपाईँहरूले गर्ने नियुक्ति, तपाईँहरूले गर्ने सेटिङ तपाईँहरूले गरेको मैले त देख्दिन ती त बिचौलियाहरूले उनीहरुले निर्णय गरेअनुसार भएको देखेको छु । म चुनौतीका साथ भन्न चाहन्छु पछिल्लो आठ महिनामा एउटै नियुक्ति, एउटै, नीति र एउटै निर्णय मलाई भनिदिनुस् जसका पछाडि बिचौलिया छैन । जम्मा एउटा उदाहरण दिए मात्र हुन्छ । सत्ताको ड्राइभिङ सिटमै बिचौलिया छ ।’

उनले वर्तमान सरकार संसदको बलमिच्याँइ र संविधानको अपहेलनाबाट बनेको आरोप समेत लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + three =