सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको महत्त्व औँल्याउँदै निरंकुशता नखोजेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले लोकतन्त्रको विकल्प राजतन्त्र हुननसक्ने बताएका हुन् ।

गत आइतबार पोखराबाट काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर र्‍याली निकालिएको थियो । पूर्वनिर्धारित आमसभा स्थगित गर्दै राप्रपाले पूर्वराजा ज्ञानेन्द्रको स्वागतलाई विशेष प्राथमिकता दिएको थियो । सोही घटनापछि राजतन्त्र समर्थकहरूमा नयाँ उत्साह देखिएको छ ।

यही परिस्थितिमा अध्यक्ष कमल थापाले आफू निरंकुश राजतन्त्रको विपक्षमा रहेको प्रस्ट्याउँदै राजासहितको लोकतन्त्रको पक्षमा रहेको बताएका छन् । ‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुनसक्दैन । त्यो सबैले बुझेका छन् । जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन । जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन, राजासहितको लोकतन्त्र खोजेको हो । लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको हो । मर्यादित र जबाफदेही लोकतन्त्र खोजेको हो,’ उनले भने ।

उनले बेलायत, जापान, नर्वेजस्ता देशहरूलाई उदाहरण दिँदै राजासहितको लोकतन्त्र सफल भएको तर्क प्रस्तुत गरेका छन् । ‘राजासहितको प्रजातन्त्र विश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिन्छ । बेलायत, जापान, नर्वे लगायतका कैयौं मुलुक त्यसको ज्वलन्त उदाहरण हुन्,’ उनले अगाडि भनेका छन्, ‘जनताले चाहेको त्यस्तै प्रजातन्त्र हो । त्यसैले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 16 =