रवि लामिछाने आगामी बैशाखमा रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने

रुपन्देही । रवि लामिछाने आगामी बैशाखमा रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएको छ । सोमबार अदालतमा उपस्थित भएका उनलाई जिल्ला अदालत रुपन्देहीले आगामी बैशाख २३ गतेका लागि तारिख दिएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनीविरुद्द मुद्दा परेपछि पहिलोपटक बुझ्न सोमबार लामिछाने अदालत उपस्थित भएका थिए ।
सोमबार लामिछानेको तारिख परेको र सोही तारिख बुझ्न अदालतमा उपस्थित भएको अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए ।
जिल्ला सरकारी वकिल कार्यालयले गत माघ ६ मा रूपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर पूरक मुद्दा दर्ता गरेको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि लामिछानेले बैंक ज्ञारेन्टीमार्फत उक्त धरौटी रकम बुझाएपछि रिहा भएका थिए ।








