न्यायालयमा महिलाको उपस्थिति बढेको छ तर पर्याप्त छैन : न्यायाधीश मल्ल

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायालयमा महिलाको उपस्थिति केही बढेको भएपनि पर्याप्त नरहेको बताएकी छन् ।

सोमवार ललितपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले निर्णायक तहमा महिलाको उपस्थिति अझै कमजोर रहेको बताइन् । उनले उपस्थितिलाई कसरी बाक्लो बनाउने, कसरी प्रभावकारी बनाउने भन्ने कुरा आजको बहसको विषय भएको बताइन् ।

उनले पुरुषको क्षमताको प्रश्न नउठ्ने तर महिलाको सक्षमताको बारेमा हरेक क्षण प्रश्न उठ्ने गरेको भन्दै महिलाले आफूलाई स्थापित पनि गर्नुपर्ने आवश्यकता रहेको बताइन् । उनले अहिले न्यायालयमा पनि महिलाको उपस्थिति बाक्लो रहेको बताइन् ।

उनले कर्मचारी, सुरक्षा, वकिल लगायत न्याय क्षेत्रको पत्रकारितामा पनि माहिलाहरुकै नेतृत्व रहेको देख्दा खुशी लागेको बताइन् ।

न्यायाधीश मल्लले भनिन्, ‘युएन वुमेनले एक्सेस टु जस्टिसको अध्ययन गर्दा एक पटक सय जना महिलालाई अध्ययन गरेर हेरेको थियो । उनीहरुले ७५ प्रतिशतले हामी अदालत जाँदैनौँ भने । किनभने कानुन पनि विभेदपूर्ण छ । न्यायपालिकामा जाँदा सबै पुरुष नै पुरुषका बीचमा आफ्ना कुरा भन्नै अफ्ठ्यारो लाग्छ । सहज वातावरण कसरी सिर्जना गर्ने ? आजकाल त गर्व लाग्छ । किनभने महिला अधिकृतहरू बेन्चमा हुनुहुन्छ, बहस गर्ने सरकारी वकिल पनि धेरै महिला हुनुहुन्छ, वैतनिक पनि महिला हुनुहुन्छ र निजी क्षेत्रबाट धेरै वकिल नै हुनुहुन्छ । सुरक्षा दिन पनि महिला नै हुनुहुन्छ । पत्रकारहरूले जुन कभर गर्नुहुन्छ कानूनको त्यहाँ पनि महिलाले नै नेतृत्व गर्नुहुन्छ । त्यो भनेर हामीले पुरुष पनि हाम्रो लागि महत्वपूर्ण हुन्छ । महिलाको उपस्थिति केही हदसम्म देखिएको छ तर पर्याप्त छैन । निर्णायक तहमा महिलाको उपस्थिति कम छ । उपस्थितिलाई कसरी बाक्लो बनाउने, कसरी प्रभावकारी बनाउने हो । पुरुषको क्षमताको प्रश्न उठ्दैन तर महिलाको सक्षमताको प्रत्येक दिन, प्रत्येक क्षण प्रश्न उठ्छ । हामीले आफूलाई स्थापित पनि गर्नुपरेको छ ।’

न्यायाधीश मल्लले स्वच्छ र समानतामूलक न्याय आजको आवश्यकता भएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 6 =