राजावादीहरूको गतिविधि बढेपछि माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । समसामयिक राजनीतिक परिस्थितिबारे विस्तृत छलफल गर्न बिहान ८ बजेपछि बस्ने गरी बैठक बोलाइएको हो ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँड, तराई–मधेश जागरण अभियानको अहिलेसम्मको प्रगति समीक्षा, आगामी स्ववियु निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । पार्टीभित्र लामो समयदेखि नेताहरूको जिम्मेवारी टुंगो नलागेको विषय बैठकमा प्रमुख एजेन्डाका रूपमा रहने बताइएको छ ।

फागुन १२ गते झापाको कचनकवलबाट सुरु गरिएको माओवादी केन्द्रको ‘तराई-मधेश जागरण अभियान’ राजावादी गतिविधि बढेपछि स्थगित गरिएको थियो । अभियानको क्रममा विभिन्न स्थानमा कार्यक्रमहरू आयोजना गर्ने योजना भए पनि पार्टी नेतृत्वले रणनीतिक रूपमा अभियानलाई रोक्दै काठमाडौं केन्द्रित हुने निर्णय लिएको छ । यससँगै अभियानमा खटिएका नेताहरू काठमाडौं फर्किसकेका छन् ।

माओवादी केन्द्रले चैत ७ गतेसम्मका लागि तय गरेको जागरण अभियानलाई के गर्ने भन्नेबारे बैठकमा थप निर्णय लिने तयारी गरेको छ । पार्टीका नेताहरूले अभियानलाई पुनः निरन्तरता दिने वा रणनीति परिमार्जन गर्ने विषयमा छलफल गर्नेछन् ।

बैठकमा चैत ५ गतेका लागि तय भएको त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीबारे पनि समीक्षा हुनेछ । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको तर्फबाट उम्मेदवारी चयन, गठबन्धनभित्रको तालमेल तथा चुनावी रणनीति बैठकका एजेन्डामा रहनेछ ।

यसबाहेक हालैको राजनीतिक उतारचढाव, गठबन्धनको अवस्था, संसद्मा भइरहेका गतिविधि, अन्य दलहरूसँगको समन्वय तथा सरकारका आगामी नीति तथा कार्यक्रमबारे बैठकमा छलफल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 6 =