एमालेका पूर्व वडाध्यक्ष ढोली रास्वपा प्रवेश

काठमाडौं । अछाममा नेकपा एमाले परित्याग गर्ने क्रम बढेको छ ।
डा. भीम रावललाई एमालेले निष्कासित गरेपछि अछाममा एमाले नेताहरूले पार्टी परिवर्तन गर्न थालेका छन् ।
स्थानीय तहका नेता तथा स्थानीय तहका जनप्रतिनिधि, निवर्तमान जनप्रतिनिधिहरूले धमाधम एमाले परित्याग गरिरहेका छन् । केही नेताहरू डा. रावलको मातृभूमि जागरण अभियानमा लागेका छन् भने केही नेताहरू माओवादी केन्द्र, रास्वपा र काँग्रेसमा प्रवेश गरेका छन् ।
जस अन्तर्गत जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ४ चाल्साका निवर्तमान वडा अध्यक्ष ललित ढोलीले हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।
नेकपा एमालेको अछाम जिल्ला सचिवालयका सदस्य समेत रहेका उनी रास्वपा प्रवेश गरेपछि एमालेमा हङ्गामा भएको छ ।
ललित ढोली २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवार भई निर्वाचित भएका थिए ।
यस विषयमा सामाजिक सञ्जाल फेसबुकमा उनको सदस्यता सार्वजनिक भएपछि विभिन्न चर्चा सुरु भएका छन् ।
उनले नयाँ पार्टीमा आबद्धताको विषयमा आफ्नो आधिकारिक धारणा अहिलेसम्म दिएका छैनन् ।








