महिला सहभागिताका कतिपय प्रतिवद्धता नारामा सिमित भए : कमला पन्त

काठमाडौं । राष्ट्रिय सभामा नेपाली काँग्रेसकी सांसद कमला पन्तले राज्यको विभिन्न निकायमा महिलाको सहभागिता उल्लेख वृद्धि भएको बताएकी छन् ।
आइतबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले स्थानीय तह सरकारमा महिलाको सहभागिता सबैभन्दा बढी ४१ प्रतिशत पुगेको बताइन् ।
उनले सहभागिताको हिसाबले महिलाको संख्या वृद्धि भएको देखाए पनि अर्थपूर्ण सहभागितामा धेरै कमजोरी रहेको बताइन् । महिला तथा बालबालिकाको क्षेत्रमा राज्यले गरेको कतिपय प्रतिवद्धता नारामा सीमित भएको उनको भनाइ छ ।
उनले राज्यका निकायहरूमा महिलाको उपस्थिति अर्थपूर्ण बनाउनका लागि थप उदार नीति अवलम्बन गर्नुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, ‘महिला र बालबालिका भनेपछि एक आपसमा अन्तरसम्बन्ध छ भन्ने हाम्रो मान्यता पनि हो र वास्तविकता पनि त्यही हो । तर केही समययता केही कुरा नारामा सीमित भएका छन् । अब प्रोग्रेसिभ हुँदै जानुपर्नेमा हाम्रा केही ठाउँमा हामीले गरेका प्रतिवद्धता लागू भएका छन् । सहभागिताका हिसाबले वृद्धि भएको छ । तर अर्थ पूर्ण सहभागितामा कमजोरी छ । महिलाहरूको अबको मुद्दा भनेको अर्थपूर्ण सहभागिता हुनु प¥यो । केही छिद्र भेट्टाउने बित्तिकै महिलाहरूलाई बाइपास गर्ने कमजोर बनाउने पछि पार्ने परिपाटी अहिले पनि छँदै छ । यसमा सकारात्मक पक्ष भन्दा संघीय संसदमा ३४ प्रतिशत प्रदेशसभामा ३६ दशमलव ५ प्रतिशत स्थानीय तहका ४१ दशमलव १ प्रतिशत र निजामती सेवामा केही वर्ष अघि चार प्रतिशत रहेकोमा अहिले २८ प्रतिशत पुगेको छ । यसमा थप उदार हुनुपर्ने अवस्था छ ।’
राष्ट्रिय सभा सदस्य पन्तले महिला भएकै कारणले महिलाले असमानता व्यहोर्नुपरेको बताइन् । छोरी र छोराको बीचमा विभेदको अन्त्य गराउन बलियो कानुन आवश्यक भएको उनको भनाइ छ ।








