खबर दिनभर : राजावादी सल्बलाएपछि माओवादीको अभियान स्थगितदेखी नेपाल नामिबियासंग पराजितसम्म

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
शनिबार साँझ राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको हो । भेटका क्रममा उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले बताएको छ ।
महिलालाई अधिकारसहितको स्थान दिनेमा नेपाल अगाडि : देउवा
पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महिलालाई राज्यका विभिन्न अङ्गमा अधिकारसहित स्थान दिने क्षेत्रमा नेपाल अगाडि रहेको बताएका छन् ।
शनिवार ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले राज्यका महत्वपूर्ण पदमा महिलालाई अनिवार्य स्थान दिने बाध्यकारी व्यवस्था अन्य देशमा नभएको जिकिर गरे ।
उनले सभामुख र उपसभामुख तथा स्थानीय तहका प्रमुख वा उपप्रमुख मध्ये एक पदमा महिलाको अनिवार्य व्यवस्था गरेर स्थानसहित अधिकार दिएको बताए ।
उनले राज्यका महत्वपूर्ण स्थानमा जिम्मेवारी लिने कार्यमा महिलाहरूले थप आत्मविश्वासका साथ अग्रसर हुनुपर्नेमा जोड दिए ।
उनले भने ‘महिलाको उत्थान मात्र होइन अधिकार दिने मात्र होइन महत्वपूर्ण जिम्मेवारी दिने काममा पनि नेपाल अगाडि बढिरहेको छ । अहिले हरेक पालिकाहरूमा अनिवार्य रुपमा एक जना महिला राखेका छौँ । उपसभामुख, राष्ट्रपति उपराष्ट्रपतिमा पनि महिलालाई पु¥याइ सकेका छौँ । देशभर महिलालाई अधिकारसहित स्थान दिएका छौँ । भोलिका दिनहरूमा पनि महिलाहरूले अझ बढी जिम्मेवारी लिने विश्वास लिएको छु । त्यसका लागि महिला विभाग, महिला संघलगायत सम्पूर्ण दिदीबहिनीहरूले एकताबद्ध भएर काम गर्नुस् । हाम्रो देश महिलालाई अधिकार दिने कुरामा अगाडि छ, कुनै पदको दुई जनामध्ये एक जना महिला अनिवार्य हुनैपर्ने बाध्यता नेपालमा मात्रै छ अरु कुनै देशमा पनि यस्तो व्यवस्था वा बाध्यता छैन ।’
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले घरपरिवार, समाज र राजनीतिको काम गर्न महिलाले धेरै समय खर्च गर्नुपरेको बताए । उनले राज्यका विभिन्न पदमा महिलाको उपस्थिति अनिवार्य गरिए जस्तै घरायसी कार्यमा महिला र पुरुषले काम गर्ने वातावरण बिस्तारै बन्ने आशय व्यक्त गरे ।
राजावादी सल्बलाएपछि माओवादीको ‘जागरण अभियान’ स्थगित
नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी, तराई(मधेश जागरण अभियान’ स्थगित भएको छ । राष्ट्रिय राजनीतिलाई मध्यनजर गरेर अभियान स्थगित भएको महासचिव देव गुरुङले बताए ।
अभियान र पछिल्ला विकसित घटनाक्रमबारे छलफल गर्न भोलि पदाधिकारी बैठक बस्ने उनले बताए । पछिल्लो समयमा राजावादी शक्तिहरूको सक्रियतापछि माओवादीले अभियान स्थगित गरेको बताइएको छ ।
माओवादीले फागुन १२ गते झापाबाट एक महिने अभियान सुरु गरेको थियो ।
स्रोत र साधनले भ्याएसम्म भूकम्पपीडितलाई सहयोग जारी छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले भूकम्पपछिका पुनर्निर्माण र पुनःस्थापनालाई सरकारले प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको बताएका छन् ।
अछाम जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना भएको जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको आज उद्घाटन गर्दै उनले स्रोत र साधनले भ्याएसम्म सरकारले भूकम्पपीडितलाई सहयोग गरिरहेको बताए ।
गत वर्षको कात्तिकमा भएको भूकम्पबाट प्रभावित भएकालाई सहज ढङ्गले सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना भएको उक्त एकाइले अछाम, बाजुरा र डोटीका नागरिकलाई सघाउने छ ।
नवस्थापित एकाइमार्फत पीडितलाई आवास निर्माण तथा मर्मतससम्भारका काम गर्न सहज हुने विश्वास व्यक्त गर्दै लाभग्राहीलाई द्रुत सेवा प्रवाह गर्न उनले प्रमुख जिल्ला अधिकारीलगायत सम्बद्ध कर्मचारीलाई निर्देशन पनि दिए ।
भूकम्पबाट क्षति भएका अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ र ४ का ४ जना लाभग्राहीलाई आवास पुनर्निर्माणअन्तर्गत पहिलो किस्ता बापत प्रतिघर रु ५० हजार प्रदान गरिएको छ । एकाइ स्थापनासँगै लाभग्राहीलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको थियो ।
त्यस अवसरमा प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख भीष्मकुमार भुसाल, प्रदेशसभा सदस्य मानबहादुर रावल, तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी उपस्थित थिए ।
जाजरकोट भूकम्पमा परी एक सय ५७ जनाले ज्यान गुमाएका थिएभने तीन सय ७५ जना घाइते भएका थिए । विसं २०७९ कात्तिकमा २३ गते बिहान डोटीको पूर्वीचौकी गाउँपालिका ३ को गैरगाउँ केन्द्रबिन्दु भएर ६ दशमलव ६ म्याग्नेच्युडको भूकम्प भएको थियो ।
उक्त भूकम्पमा उक्त गाउँका ६ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए । डोटीका नौवटा स्थानीय तहबाट ५४१ वटा निजी आवास पूर्ण रुपमा क्षति भएका र चारहजार एक हजार ४६ घरहमा आंशिक क्षति भएको छ थियो । त्यस्तै ४७ विद्यालय, आठ स्वास्थ्य चौकी, नौ सरकारी भवन र चार सांस्कृतिक संपदामा पनि क्षति भएको थियो ।
रास्वपाप्रति जनताको आकर्षण बढिरहेको छ : डा.स्वर्णिम वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपसभापति डा.स्वर्णिम वाग्लेले पछिल्लो समय पार्टीप्रति जनताको आकर्षण बढिरहेको बताएका छन् ।
पार्टीको भिमाद नगर समितिको आज आयोजित भेलालाई सम्बोधन गर्दै उनले देशभर पार्टीको पक्षमा जनलहर बढेरहेकाले जनताको विश्वास कायम राख्नेगरी काम गर्न सबै नेता, कार्यकर्तालाई आग्रह गरे ।
तल्लो स्तरसम्म पुगेर पार्टीको गतिविधिलाई चलायमान बनाउन आग्रह गर्दै उनले सबै मिलेर पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । जनताले पार्टीप्रति गरेको विश्वासलाई डगमगाउन नदिने उनको भनाइ छ ।
पार्टीका जिल्ला संयोजक विश्व बास्तोला र व्यास नगर समितिका सभापति चुडामणि दाहालले जिल्लाका सबै पालिकामा पार्टीको भेलालाई तीव्र पारिएको जानकारी दिए । भेलाले नगर समितिको सभापतिमा हरिप्रसाद लम्साललाई चयन गरेको छ ।
त्यस्तै, उपसभापतिमा उत्तम सुवेदी, सचिवमा अमृत थापा, सहसचिवमा कमलभक्त गैह्रे, कोषाध्यक्षमा विमला भण्डारी र सदस्यहरूमा सुकुमाया गोतामे, टीकाराम राना र रामु नेपाली चयन भएका छन् ।
राजा भोटको राजनीति भन्दा धेरै माथि हुनुहुन्छ, तपाईंहरुसँग चुनाव लड्न हामी काफी छौँ : राजेन्द्र लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजा भोट राजनीति भन्दा माथि रहने संस्था भएको बताएका छन् ।
शनिवार वीरगञ्जको लालबगलामा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक दलहरूले देश बर्बाद बनाएको र अब राजसंस्था देशलाई आवश्यक भएको सन्देश दिएका थिए ।
उक्त सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतका राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहलाई पार्टी खोलेर निर्वाचनबाट आउन चुनौती दिँदै आएका छन् । सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष लिङदेनले राजा भोटको राजनीति भन्दा धेरै माथिको संस्था भएको बताए ।
उनले अहिलेका नेताहरूसँग आफूहरू नै चुनाव लड्न पर्याप्त रहेको बताए । आफूहरूले राजनीतिक दलको राजा नभई देशको राजा स्थापित गर्न खोजेको बताए ।
उनले भने ‘राजाले पहाडमा नभएर मधेसको जनताले रोजगारी पाओस् । मधेसको जनताले गरिखाने वातावरण निर्माण होस् भनेर खोलेको उद्योगधन्दाहरू बेचेर खाए । कृषि औजार कारखाना, चिनी कारखाना, जनकपुर चुरोट कारखाना बन्द गरे र आज दर्जनौँ भ्रष्टाचार काण्डहरूमा उनीहरूको नाम मुछिएको छ । त्यस्ता नेताहरू अहिले राजालाई ललकार्दै छन् । राजा चुनाव लड्न आऊ भनेर । म भन्छु, तपाईंहरुसँग चुनाव हामी लड्छौँ । राजाले चुनाव लड्ने होइन । चुनाव लड्नको लागि हामी जस्ता मानिसहरु छौँ । हामीले खोजेको राजा, हामीले स्थापित गर्न खोजेको राजा तपाईंहरुसँग चुनाव लड्ने होइन । राजनैतिक दलको राजा होइन, देशको राजा खोजेको हो । राजा राजनीतिक दल भन्दा र भोटको राजनीति भन्दा माथि रहने संस्था हो ।’
अध्यक्ष लिङदेनले अहिलेका राजनीतिक दलहरू देशभित्रै युवाहरूले गरिखाने वातावरण बनाउनेतर्फ अग्रसर नभएको बताए । अहिलेका राजनीतिक दल र नेताहरूले ३५ वर्षको समयमा केही काम गर्न नसकेको बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी, प्रदेश खारेजी गर्ने मागहरू आफ्नो पार्टीको रहेको बताए ।
महिला श्रमिकलाई छुन सकेन महिला दिवसले
‘सबै महिला तथा बालबालिकाका लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने नाराका साथ नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी आज ११५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइएको छ । जिल्लाका महिला श्रमिकहरू भने आज अन्तरराष्ट्रिय महिला दिवस हो भनेर बेखबर छन् ।
व्यास नगरपालिका–१ भादगाउँ निवासी सुस्मा गुरुङ दमौली बजारमा इँटा, सिमेन्ट, बालुवा र गिट्टी बोक्न व्यस्त हुनुहुन्छ । “आज महिला दिवस हो र रु हामीलाई थाहा नै थिएन, दिनभर कामबाट फुर्सद हुँदैन । बेलुकी र साँझका लागि छाक जुटाउनमा व्यस्त हुन्छौँ, हामीलाई न दिवस न रमाइलो गर्ने समय छ”, उहाँले भन्नुभयो, “हामी बालबच्चाको पठनपाठन र लालनपालनका लागि खर्च जुटाउन दिनभरि काममा व्यस्त हुन्छौँ ।”
दमौली बजारमा सिमेन्टमा बालुवा, गिट्टी घोल्ने, ओसारपसार गर्ने र इँटा बोकेर दैनिकी चलाउँदै आउनुभएकी व्यास–१० दुम्सीचौरकी सुस्मिता विकले कामको व्यस्तताले दिवस हो भन्ने पत्तै नभएको बताउनुभयो । बिहान ८ बजे खाना खाएर हतारहतार घरबाट निस्केर बिहान ९ बजेदेखि घर निर्माणका लागि उनी इँटा बोक्न व्यस्त छन् ।
विकले भनिन्,“दिवस कहिले पर्छ, किन मनाइन्छ थाहा छैन काम नगरी खान पुग्दैन ।” उहाँ महिला दिवसबारे जानकारी नै नभएको बताइन् । “यो दिवसका बारेमा हामीलाई थाहा हुँदैन, न त हामी जस्ता श्रमिकलाई जानकारी गराइन्छ”, उहाँ भन्नुहुन्छ, “दिवसले हामीलाई खान दिँदैन ।” काम गरेबापत दैनिक रु छ सय ठेकेदारबाट पारिश्रमिक पाउने गरेको उनले जानकारी दिइन् ।
महिला र पुरुषबीच अझै पनि ज्यालामा विभेद हुने गरेको उहाँहरूको गुनासो छ । पुरुषसरह काम गरे पनि ज्याला तथा पारिश्रमिकमा विभेद रहेको विकले बताइन् । एउटै काम बराबर गरे पनि ज्यालामा असमानता रहेको गुरुङको भनाइ छ । उहाँले भन्नुभयो, “पुरुषले यही काम गर्दा रु एक हजार पाउँछन्, हामीलाई रु छ सय मात्रै दिन्छन् ।”
पुरुष सरह काम गरे पनि कामको मूल्याङ्कन भने कम हुने गरेको महिला श्रमिकको गुनासो छ । गुरुङले भनिन्,“थोरै आम्दानी हुने भएकाले भाडाको घरमा बस्नु परेको छ, केटाकेटी पढाउन, खान र अन्य खर्च जुटाउन सास्ती हुन्छ ।”
सरकारले एकातिर महिला सुरक्षा, सम्मान र रोजगार, समृद्धि ल्याउने भन्दै दिवस मनाइरहेको छ । तर निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने अधिकांश महिलाले यो दिवस कहाँ र कसरी मनाइँदैछ भनेर अनभिज्ञ रहेको बताउँछन् । श्रमिक महिलाको पहिचान र सम्मानका लागि स्थानीय सरकारले खोजी गरिरहेको सूचना प्रकाशन भएको पाइए पनि यी महिला श्रमिक पर्दा पछाडि रहन बाध्य छन् ।
दैनिक ज्यालादारी गरेर जीकिोपार्जन गर्ने अधिकांश महिला श्रमिकलाई यो दिवसका बारेमा खासै मतलब छैन । आज दमौलीमा भेटिएका अधिकांश महिला श्रमिकले दिवस मनाउने र यसका बारेमा चासो नभएको बताउछन् ।
व्यास–३ निमचोकमा घर निर्माणका लागि बालुवा, गिट्टी घोल्दै गर्नुभएकी ऋषिङ गाउँपालिका–१ की दिलमाया थापा मगरलाई पनि दिवसले छुन सकेको छैन । अरू दिन जस्तै उहाँ आज पनि बिहानदेखि घरको गारो लगाउन बालुवा र सिमेन्ट घोल्ने काम व्यस्त छन् ।
“निर्माण क्षेत्रमा काम गरेको दश वर्षभन्दा बढी भयो, अहिलेसम्म दिवस मनाएको छैन, कसैले मनाउनुपर्छ भनेर जानकारी पनि दिएका छैनन्”, मगरले भन्नुभयो, “काम नगरी खान पाइँदैन र पुग्दैन पनि । दिवस मनाएर हामी जस्ता कामदारलाई अर्थ छैन ।”
व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले महिलालाई पुग्नुपर्ने सचेतना अझैसम्म पनि पुग्न नसकेको बताउनुभयो । सचेतनाको अभावले दिवसको दिनमा महिला काम गर्न बाध्य रहेका उहाँको भनाइ छ । “ठेकेदारले महिला कामदारलाई बिदा दिनुपर्ने हो, तर दिवसप्रति गम्भीर बनाउन कुनै निकायले समन्वय नगर्दा यस्तो अवस्था आएको हो ।”
ठेकेदार नै दिवसका विषयमा अनभिज्ञ हुँदा वर्षमा एकपटक मनाइने दिवसले वास्तविक श्रमिक महिलालाई छुन नसकेको उपप्रमुख दरैको भनाइ छ । उहाँले दीर्घकालीन सोचका साथ नीतिगत रूपमा श्रमिक महिलाको हकहितलाई समेटेर कार्यक्रम ल्याउन सके मात्र दिवस मनाउनुको औचित्य हुने धारणा राखिन् ।
श्रमिक महिलासँगै ठेकेदारलाई समेत सचेत गराउन सक्नुपर्ने र दिवसका विषयमा जानकारी गराउन आवश्यक देखिएको उपप्रमुख दरैले बताइन् । सरकारले वास्तविक श्रमिकलाई सम्मान गर्न सकेमा मात्रै दिवसको प्रभावकारी देखिने भन्दै उनले भनिन्,“समान कामका लागि समान ज्याला हुनुपर्छ भनेर बारम्बार आवाज उठाउँदै आएका छौँ, तर सुनुवाइ हुँदैन, पढेलेखेका जागिर खाएकालाई दिवसले अर्थ दिए पनि वास्तविक सामान्य पढेका तथा अशिक्षित महिलाहरू अझै पनि दिवसको अर्थ, महत्त्व र कार्यक्रमभन्दा बाहिर रहेका छन् ।”
दाउन्नेमा ट्रक र बस ठोक्किएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
नारायणगढ–बुटवल सडक खण्डको दाउन्नेमा ट्रक र बस ठोक्किएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको छ । गए राति ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग बिहानैदेखि दुईतर्फी अवरुद्ध भएको हो । अहिले सवारी साधनको लाइन पूर्वतर्फ दुम्कीबासम्म छ ।
अहिले ठोक्किएका दुवै गाडी हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । यो क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । सडक भत्किएर खाल्डाखुल्डी भएकाले लामो समयदेखि यात्रुहरुले सास्ती भोग्दै आएका छन् । चालकहरुले लेन मिचेर सवारी चलाउनाले पनि यस क्षेत्रमा दुर्घटना हुने गरेको छ ।
महिला टी-२० आई शृङ्खला : नामिबियासंग हार्यो नेपाल
चार देशीय महिला टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको छ । अन्तिम ओभरमा दुई क्याच छोड्दा नेपालले ६ विकेटले हारेको हो ।
अन्तिम ओभरमा नामिबियालाई जितका लागि १० रन आवश्यक थियो, तर नामिबियाले एक बलअगावै लक्ष्य भेट्टाएको हो । वर्षाका कारण ओभर छोट्ट्याइएको खेलमा नामिबियाले १५ ओभरमा ७१ रनको लक्ष्य पाएको थियो ।
नामिबियाकी मेकेलान्ये म्याटिलले सर्वाधिक २६ रन जोडिन् । जुरिएन डियर्गाड्र्टले ७ बलमा १३ रन जोड्दै नामिबियालाई जितको बाटो पहिल्याइन् ।
बलिङमा पूजा महत्तो, कविता जोशी, कप्तान ईन्दु वर्मा र ईश्वरी विष्टले एकएक विकेट लिए । त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ९२ रन बनाएको थियो ।
दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतबाट रिहा
महाभियोग लगाइएका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई अदालतले प्रक्रियागत आधारमा पक्राउ गर्न आदेश दिएपछि शनिबार हिरासतबाट रिहा गरिएको छ।
गत डिसेम्बर ३ मा नागरिक शासनलाई उल्ट्याउने प्रयास गरेको आरोपमा जनवरीमा पक्राउ परेका निलम्बित राष्ट्रपति मुस्कुराउँदै बिशेष हिरासतबाट बाहिर निस्किनुभएको थियो ।
“म यस देशका जनताप्रति कृतज्ञता व्यक्त गर्दै शिर निहुराउँछु,” रिहाइपछि आफ्ना वकिलमार्फत जारी गरेको युनको विज्ञप्तिमा भनिएको छ । एक दिन अघि एक अदालतले प्राविधिक र कानुनी आधार देखाउँदै उहाँको गिरफ्तारी वारेन्ट रद्द गरेको थियो । यो निर्णयको अनुसन्धान गरिरहेका अभियोजनकर्ताहरूले शनिबार एक बयानमा उक्त निर्णय ‘अन्यायपूर्ण’ थियो भनेका छन् ।
अभियोजकहरूले अदालतको फैसलाविरुद्ध अपिल गर्ने उनीहरूको अधिकारबारे सुनुवाई गर्दै युनलाई रिहा गरिएको थियो । विशेष गरी योआपराधिक अभियोगमा उहाँको हिरासतको प्राविधिक विवरणको बारेमा थियो।
युनले आफ्नो महाभियोगलाई कायम राख्ने र औपचारिक रूपमा उहाँलाई पदबाट हटाउने वा नहटाउने भन्ने विषयमा छुट्टै संवैधानिक अदालतको निर्णयको पनि सामना गर्नुपर्नेछ ।
अभियोजकहरूले भनेका छन्, “संवैधानिक अदालतको निर्णय र सम्बन्धित विचारहरूलाई ध्यानमा राख्दै महान्यायाधिवक्ताले टोलीलाई युनलाई हिरासतबाट रिहा गर्न अपील गर्नुको सट्टा सक्रिय रूपमा ‘ट्रायल कोर्ट’मा आफ्ना तर्कहरू प्रस्तुत गर्न निर्देशन दिनुभएको छ ।”
यदि युनलाई हटाइयो भने दक्षिण कोरियामा ६० दिनभित्र नयाँ राष्ट्रपतीय निर्वाचन हुनैपर्छ ।औपचारिक रूपमा पदबाट हटाएपछि पनि उहाँविरुद्ध फौजदारी मुद्दा चलिरहनेछ ।
विधिको शासन को बहाली
गत महिना युनको गिरफ्तारी रद्द गर्न अनुरोध गरेका उहाँका वकिलले किनभने अभियोजन पक्षले उनलाई अभियोग लगाउन धेरै लामो समय पर्खेको कारण उनको हिरासत गैरकानुनी थियो, उनले उनको रिहाईको प्रशंसा गरे।
“राष्ट्रपतिको रिहाईले विधिको शासनको पुनस्र्थापनाको सङ्केत गर्छ,” उहाँको कानुनी टोलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। एएफपीका संवाददाताहरूका अनुसार हिरासतबाट रिहा भएपछि युन धेरै गाडीहरूको बीचमा रहेको एउटा विशेष गाडीमा चढी सीधै राष्ट्रपति निवासतर्फ जानुभएको थियो र उहाँले राष्ट्रपति भवनबाहिर आफ्नो कारबाट बाहिर निस्केर सयौँ उत्साही समर्थकहरूलाई अभिवादन गर्नुभएको थियो ।
यसैबीच, डेमोक्र्याटिक पार्टीका नेता ली जे–म्युङले एक र्यालीलाई सम्बोधन गर्दै निलम्बित राष्ट्रपतिको शैनिक शासनको प्रभाव रहँदासम्म लड्ने बताउनुभएको छ ।
पूर्व अभियोजक युनले डिसेम्बरमा नागरिक शासन निलम्बन गरी संसद्मा सैनिक पठाएर प्रजातान्त्रिक दक्षिण कोरियालाई राजनीतिक उथलपुथलमा धकेलेको आरोप विपक्षीहरूको छ ।








