‘राज्यको नेतृत्व तहमा पुग्न महिलालाई घरबाटै चुनौती’

काठमाडौँ । मधेस प्रदेशको जनकपुरधाममा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ ।
शनिवार मधेस प्रदेशको जनकपुरधाम उपमहानगरपालिकामा विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको हो । जनकपुरधाम नगरपालिका वडा नम्बर १० का महिला सदस्यहरूले महिलासम्बन्धी सशक्तीकरणका कार्यक्रमले महिलालाई नेतृत्वमा पुग्न सहज हुने बताए । महिलाहरू अगाडि आउन देखिएको चुनौती सामना गर्न नारी दिवसको अवसरमा चेतनामूलक कार्यक्रम आयोजन गरिएको उनीहरूको भनाइ छ ।
नेतृत्वमा पुग्नका लागि महिलाहरूले पहिला घरबाटै मुक्ति पाउनुपर्ने सचेत महिलाहरू बताउँछन् । समाजमा पुरुष समान अधिकार खोजेपनि महिलाहरू घरमै शोषणमा परेको उनीहरूको भनाइ छ । पछिल्लो अवस्थामा महिलाहरू शिक्षित भएर राज्यका विभिन्न अङ्गमा पुगेपनि पुरुष सतात्मक सोचमा परिवर्तन नभएको महिलाहरूले नै बताएका छन् । उच्च ओहदामा पुगेका महिलाहरू पनि पुरुष सतात्मक सोचकै कारण राज्य र घरको दोहोरो बोझ बोकेर हिँड्न बाध्य भएको उनीहरूको भनाइ छ ।
सामाजिक कार्यकर्ता रिताकुमारी साह मधेस प्रदेशका महिला हरेक कुरामा पछाडि परेको बताउँछन् । केही राजनीतिक नेताबाहेक कुनैपनि क्षेत्रमा महिलाको स्थान नगण्य रहेको उनको भनाइ छ । प्रदर्शनमा सहभागी पुनम यादव महिला अधिकार प्राप्तिका लागि मधेसमा अति कठिन रहेको बताउँछन् । घरको घेराबाट बाहिरी समाजमा जानै मुस्किल रहेको उनको भनाइ छ । जनकपुरधाम वडा नम्बर ८ कि रेणु गुप्ता रौनियार महिला र पुरुषबिचको श्रममा रहेको विभेद स्थानीय सरकारले अन्त्य गर्नुपर्ने बताउँछन् । महिलाले पाएको जे जति अधिकार छ सरकारले सुनिश्चित गर्नुपर्ने उनको माग छ ।
महिला दिवसको अवसरमा मात्र नभई महिला सशक्तीकरण र जागरणका लागि विविध कार्यक्रमहरूको आयोजना सरकारी स्तरबाटै हुनुपर्ने महिलाहरूको माग छ । महिला जागरण सम्बन्धित कार्यक्रम आयोजना गरी महिलालाई नेतृत्वमा पुग्न सरकारले सहजीकरण गर्नुपर्नेमा महिला अभियन्ताहरूले जोड दिएका छन् ।








