जनतालाई खुसी दिन नसक्दा राजतन्त्रको माग भयो : शेखर कोईराला

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले जनतालाई खुसी दिन नसक्दा राजतन्त्रको माग गर्दै नागरिकहरूले प्रदर्शन गरेको बताएका छन् ।

झापामा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजा फर्काउनुपर्छ भन्नेकुरा नेपालमा मात्र नभई फ्रान्स लगायतका देशहरूमा पनि हुने गरेको भन्दै नागरिकहरू असन्तुष्ट हुँदा अहिले प्रदर्शन भएको बताए ।

गणतन्त्रले जनतामा आशा, भरोसा जगाउन सक्यो की सकेन भन्नेकुरामा ध्यान दिन जरुरी हुने बताए । उनले राजतन्त्र फर्किने आफूलाई विश्वास नरहेको जिकिर गरे । गणतन्त्रका रक्षकहरूले राम्रो काम गरेर देखाउनुपर्ने बताए ।

उनले भने ‘अरुले पूर्वराजा भन्छन् म राजा नै भन्छु । किनभने कार्यकारी भइसकेको व्यक्तिलाई पूर्व भन्ने चलन बाहिर छैन, नेपालमा मात्रै छ । राजाको कुरा हेर्दा हरेक देशमा चलिरहेको हुन्छ । आज पनि फ्रान्स जानुभयो भने पेरिसमा एउटा चिया पसल छ । चिया पसलमा राजा फर्काउनुपर्छ भन्ने गफ हुन्छ । यसले के देखाउँछ भने द्वन्द्व चलिरहेको हुन्छ । हामीले कसरी लिएका छौँ । राजाको बारेमा कुरा गरेर मात्रै हुँदैन । जनतालाई कतिको खुसी पार्न सकेका छौँ भन्ने हो । गणतन्त्र ल्यायौँ । त्यसले आशा, भरोसा जगाउन सकेका छौँ की छैनौँ भन्ने हो । राजा फर्किन्छ त भन्नुभयो, मलाई लाग्दैन । माईखोलामा धेरै पानी बगिसक्यो मलाई लाग्दैन । हामीले राम्रो काम गरेर देखाउने हो ।’

सांसद कोईरालाले अध्यादेशको विषयवस्तु भन्दा पनि संसद बोलाउने समयमा ल्याउनु गलत भएको बताए । उनले पाँच वटा अध्यादेश संसदबाट स्वीकृत भएपनि भूमि सम्बन्धी अध्यादेश किन् स्वीकृत नगरिएको भन्दै प्रश्न गरे ।

उनले भने ‘अध्यादेशमा मैले कन्टेन्ट भित्रको कुरा गरेको होइन । सरकारलाई एकदमै जरुरत परे अध्यादेश ल्याउनसक्ने संविधानमा व्यवस्था छ । अध्यादेश संसद नचलेको बेलामा ल्याउने हो । अहिले जुन ५ वटा ६ वटा अध्यादेश आयो, संसद नबोलाउने, संसदलाई टार्ने, त्यसको ६ दिनपछि संसद बोलाउने । अध्यादेश राम्रै होला, ५ वटा पास भयो हिजो । कानुन बन्ला, त्यरी अघि बढ्ला । के कारणले भूमि सम्बन्धी अध्यादेश रोक्नुभयो । त्यो त स्वीकृत हुन ल्याइएन । अर्थतन्त्र जर्जर अवस्थामा छ ।’

सांसद कोईरालाले नेपाली काँग्रेस सत्तामा रहेको तर सरकारमा नरहेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =