‘राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ’

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले तराई–मधेशका हुलाकी राजमार्गलगायत राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सांसदहरू सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् । उनले सुरुङ निर्माणमा समेत उल्लेखनीय प्रगति भएको बताउँदै छिट्टै निर्माण सम्पन्न भई सञ्चालनमा आउने दाबी गरे । उनले सडक दुर्घटना न्यूनीकरण गर्न सडक विभाग, यातायात व्यवस्था विभाग एवं सडक सुरक्षा परिषद्मार्फत विभिन्न कार्यहरू गरिएको उल्लेख गरे ।
उनले भाडादर समेत स्वचालित हुनेगरी व्यवस्था गरिएको बताए ।
उनले भने ‘सुरुङ निर्माणमा उल्लेखनीय प्रगति भइरहेको छ र छिट्टै निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आउने छ । तराई मधेशका जनतालाई सुविधा दिनको लागि निर्माण गरिएको हुलाकी राजमार्ग लगायत राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ ।’
मन्त्री दाहालले सडक तथा पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राखेर मन्त्रालयले काम गरिरहेको बताए ।








