लगानीमैत्री वातावरण निर्माण गर्ने दिशामा अघि बढेका छौँ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाल उद्योग, पूर्वाधार विकास, वित्तीय स्थायित्व र लगानीमैत्री वातावरणको निर्माण गर्ने दिशामा अगाडि बढिरहेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) को दोस्रो वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल सङ्क्रमणकालीन अर्थतन्त्रको चरण पार गरेर उद्योग, पूर्वाधार विकास, वित्तीय स्थायित्व र लगानीमैत्री वातावरणको निर्माण गर्ने दिशामा अगाडि बढिरहेको बताए ।
उनले विगतका आर्थिक नीतिहरूलाई परिमार्जन गर्दै नयाँ सम्भावनाहरू खोज्ने क्रममा सरकार, निजी क्षेत्र, वित्तीय संस्था र सञ्चार क्षेत्रबीच सुदृढ सहकार्य हुनु अति आवश्यक रहेको बताए । उनले प्रेस स्वतन्त्रतामाथि कुनैपनि हालतमा बन्देज लगाउने काम नहुने जिकिर गरे । उनले कुनैपनि कानुनले पत्रकारिताको स्वतन्त्र अभ्यासमा अवरोध पुर्याउने, सूचनाको पहुँच रोक्ने वा पारदर्शीतालाई कमजोर पार्ने प्रयत्न गर्नु नहुने बताए ।
सभामुख घिमिरेले भने ‘प्रेस स्वतन्त्रतामाथि कुनैपनि हालतमा बन्देज लगाउने काम हुँदैन र हुनेछैन । म यो मञ्चबाट स्पष्ट भन्न चाहन्छु की सञ्चारसम्बन्धी कुनैपनि कानुनी व्यवस्था संविधानप्रदत्त प्रेस स्वतन्त्रताको मर्म विपरीत जानु हुँदैन । कुनैपनि कानुनले पत्रकारिताको स्वतन्त्र अभ्यासमा अवरोध पुर्याउने, सूचनाको पहुँच रोक्ने वा पारदर्शीतालाई कमजोर पार्ने प्रयत्न गर्नु हुँदैन । संसद यस्ता कानुन निर्माण गर्दा लोकतान्त्रिक मूल्य, मान्यता र प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय मान्यतालाई आत्मसाथ गर्नेकुरामा पूर्ण प्रतिबद्धता जाहेर गर्दछ । नेपाल सङ्क्रमणकालीन अर्थतन्त्रको चरण पार गर्दै उद्योग, पूर्वाधार विकास, वित्तीय स्थायित्व र लगानीमैत्री वातावरणको निर्माण गर्ने दिशामा अगाडि बढिरहेको छ । विगतका आर्थिक नीतिहरूलाई परिमार्जन गर्दै नयाँ सम्भावनाहरू खोज्ने क्रममा सरकार, निजी क्षेत्र, वित्तीय संस्था र सञ्चार क्षेत्रबीच सुदृढ सहकार्य हुनु अति आवश्यक छ ।’
सभामुख घिमिरेले नेपालको दिगो आर्थिक समृद्धि हासिल गर्न स्थिर नीति, लगानीमैत्री वातावरणमा पारदर्शी वित्तीय प्रणाली र नवीनतम प्रविधिको समुचित प्रयोग जरुरी रहेको बताए ।








