कुलमानले सरकारलाई टेर्दैनन् : उर्जामन्त्री

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यसम्पादन मूल्याङ्कनमा सहभागि नभएको कारण शुन्य अङ्क दिइएको बताएका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले यदि विद्यार्थी जाँचमै सहभागि भएन भने उसले कति नम्बर प्राप्त गर्छ ? भन्दै प्रतिप्रश्न गरे ।
उनले कार्यकारी निर्देशक घिसिङले तोकिएको समयभित्र कार्यसम्पादन नबुझाएर सरकारसँग भएको सम्झौताको बेवास्ता गरेको आरोप लगाए । उनले कोही पनि संविधानभन्दा माथि नहुने भन्दै सबैले कानूनको पालना गर्नुपर्ने उल्लेख गरे । घिसिङले सरकारलाई नटेर्ने, नचिन्ने भएको कारण शून्य नम्बर दिइएको बताए ।
उनले भने,‘यो भदौमा उहाँले कार्यसम्पादनको लागि अनुरोध गर्नु भएन । मूल्याङ्कन हुने कुरै भएन । भदौ व्यतित भइसकेपछि असोजमा उहाँलाई लिखित रुपमा स्मरण गराइयो । तपाईंले कार्यसम्पादन बुझाउनु भएन भनेर, त्यसलाई बेवास्ता गरियो । र एकैचोटि पुसमा ल्याएर उहाँले आफैंले नम्बर दिएर मेरो ९८ प्रतिशत आएको छ है भनेर मन्त्रालयलाई दिदिनुभयो । यसको अर्थ के हो भने विद्यार्थी यदी जाँचमै सहभागि भएन भने उसले कति नम्बर प्राप्त गर्छ ? त्यसकारणले कि मलाई भनिदिनुभन्यो उहाँ कानूनभन्दा माथि हुनुहुन्छ भनेर, अनि संविधानमा पनि लेखिदिनुपर्यो । हामीले ल्याएको व्यवस्था त्यस्तो होइन । सबै नागरिकहरु यस संविधानअन्तर्गत रहनेछन् । कानूनको परिपालना गर्ने सबैको दायित्व हो । त्यसकारण उहाँले शुन्य नम्बर पाउनुभएको हो । उनले चिन्दै चिन्नुभएन, टेर्दै टेर्नुभएन ।’
मन्त्री खड्काले घिसिङले सरकारको अनुरोधहरुलाई नटेर्ने भएको कारण उनलाई पटक-पटक स्पष्टिकरण सोधिएको समेत बताए ।








