विकास बिरोधीले पाथीभरा केबलकार निर्माणको बिरोध गरिरहेका छन् : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विकास बिरोधीहरुलाई चिन्ने बेला आएको बताएका छन् ।
बिहीवार महोत्तरीमा ‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रा.लि.’ ले सञ्चालनमा ल्याएको कागज कारखानाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले पाथीभरा केबलकारको निर्माणमा अवरोध गर्नेहरु विकास बिरोधी भएको बताए ।
उनले पाथीभरा केबलकार विकासको एउटा चरण भएको भन्दै यसको बिरोधमा स्थानीयहरु भन्दा अरु नै लागेको बताए ।
उनले विषय एकातिर तर अर्को विषय झिकेर बिरोध गरिरहेको भन्दै स्थानीयहरुले विकास निर्माणका कामलाई साथ दिनुपर्ने बताए ।
उनले मनकानमा केबलकारको उदाहरण दिँदै मनकामना केबलकार सञ्चालने धार्मिक आस्था, सम्पदा मास्ने काम नगरेको बरु पर्यटन प्रवद्र्धन, व्यापार व्यवसाय बिस्तार गरेको दाबी गरे ।
विकासका कार्यक्रमहरुले स्थानीय समुदायहरु नै लाभान्वित हुने भएकाले स्थनीयले स्वागत गर्नुपर्ने बताए ।
मन्त्री भण्डारीले भने ‘मनकामना जान पाँच घण्टा, ६ घण्टा हिँडेर जानुपर्ने हुन्थ्यो । आज मनकामना १५ मिनेटमा पुगिन्छ । त्यहाँको बजार, व्यापार अघि बढेको छ । हजारौँ मानिस त्यहाँ पुगेका छन् । नेपालको टुरिजम अघि बढेको छ । यसले कसलाई नोक्शान भएको छ ? स्थानीयलाई छ ? त्यस्तै आज पाथीभरामा, पाथीभराको कुनै धार्मिक संस्कार, सम्पदा मास्न खोजिएको छैन । कोही अधर्मी हुन सक्दैन । तर आज जुन हिसावले आज जे खालको गतिविधि भइरहेको छ ? त्यो सुहाउने किसिमको छ ? विषयवस्तु एकातिर छ । अनि एकथरी अर्को कुरा गरेर हिँडिरहेका छन् । अब हामीले देशमा विकास गर्ने को र विकास बिरोधी को हो भन्नेकुरा बुझ्नुपर्ने बेला भएको छ । जनताले यो कुरा बुझ्नैपर्छ । साना स्थानीय समस्याहरु बसेर छलफल गर्न सकिन्छ । विकासका कामलाई हामी स्थानीयले स्वागत गर्नुपर्छ । किनभने त्यसबाट स्थानीयहरु नै लाभान्वित हुन्छौँ । कसैको स्वार्थका लागि हामी लाग्नु हुँदैन । खुलेर सहयोग गर्नुपर्छ ।’
मन्त्री भण्डारीले अहिले देशको मुख्य चुनौति दक्ष श्रमशक्तिलाई मुलुकको विकास निर्माण र समृद्धिमा लगाउनु रहेको बताए । उनले देश विकास, समृद्धि र मुलुकको आर्थिक क्रियाकलापमा दक्ष जनशक्तिलाई जोड्न जरुरी रहेको बताए ।
त्यसलाई ध्यान दिएर सरकारले फागुन २६ र २७ गते श्रम तथा रोजगार राष्ट्रिय सम्मेलन आयोजना गरिरहेको बताए ।
मन्त्री भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी २६ र २७ गते आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा अघि बढ्ने गरी सम्मेलनको आायेजना गरेको बताए ।









