शहीदका अधुरा सपना पूरा गर्नुपर्नेछ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले शहीदहरूको अधुरो सपना पूरा गर्नुपर्ने चुनौती रहेको बताएका छन् ।
बुधवार काठमाडौंमा सुखानी आन्दोलनका शहीदहरूको तस्बिर अंकित हुलाक टिकटहरूको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राजनीतिक उद्देश्यमा एउटा सफलता नेपालले प्राप्त गरेको भएपनि समाजलाई दिनुपर्ने सुविधा, सहुलियत र जीवनलाई, शासन प्रणालीलाई स्वस्थ ढंगबाट अगाडि लैजाने कुरामा चुनौतीहरू देखिएको बताए । शहीदहरूको बलिदानलाई खेर जान दिनु नहुने बताए । शहीदहरूको अधुरो सपना साकार पार्न अहिलेका पिँढीले काम गर्नुपर्ने बताए ।
सभामुख घिमिरेले भने ‘राजनीतिक उद्देश्यमा एउटा सफलता नेपालले प्राप्त गर्यो । शहीदहरूको बलिदानले त्यो प्राप्त गर्यो । तर यसले दिनुपर्ने अन्य समाजलाई सुविधा, सहुलियत र जीवनलाई, शासन प्रणालीलाई स्वस्थ ढंगबाट अगाडि जाने, प्रतिस्पर्धा लैजाने लगायतका धेरै कुराहरूमा चुनौतीहरू देखा परिरहेका छन् । शहीदहरूको अधुरो सपना साकार गर्ने यो पिँढीले कामहरु गर्न सकोस् ।’
सुखानी आन्दोलनका शहीदहरू स्व. रामनाथ दाहाल, स्व. नेत्र घिमिरे, स्व.वीरेन राजवंशी, स्व.कृष्ण कुइँकेल, स्व. नारायणप्रसाद श्रेष्ठ, नारदमुनि थुलुङ र चिनियाँलाल सिंहको तस्बिर अंकित हुलाक टिकटहरूको प्रथम दिवसीय आवरणमा टाँचा लगाइएको हो ।








