‘विदेशी पानीजहाज भाडामा लिएर नेपाली झण्डा राखेर चलाउन पाइँदैन’

काठमाडौँ । नेपाल पानी जहाज कार्यालयका कायममुकायम रजिष्टार मणिराम भुसालले कानुन अभावको कारण आन्तरिक जलमार्ग नियमन गर्न नसकिएको बताएका छन् ।
मंगलवार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको जलयात्रा नियमन तथा जलयानसम्बन्धी उद्योगहरूको दर्ता गर्नको लागि कानुन निर्माणमा ढिलाइ गर्न नहुने बताए । उनले आन्तरिक जलयान दर्ताको काम सुरु नहुँदा पानी जहाज कार्यालयलाई थ्रेट रहेको बताए ।
उनले आन्तरिक जलयात्राको लागि सबैभन्दा ठूलो समस्या वनहरूको रहेको बताए । उनले सामुदायिक वनहरू जलमार्ग आफ्नै सोच्ने भएको कारण अवरोध सिर्जना हुनसक्ने उल्लेख गर्दै यसको समाधान गर्न जरुरी रहेको बताए । उनले पानीजहाज विधेयकमा पानीजहाज उद्योगहरूमा कम्तीमा पनि ६० प्रतिशत नेपाली कामदार राख्न पाउनुपर्ने व्यवस्था राख्न सुझाव दिए ।
उनले विश्वका विकसित देशहरूले रकेट उडाउने तयारी गरिरहँदा नेपालजस्ता विकासशील देशहरूले जलयानको माध्यमबाट समृद्धि ल्याउन सकिने बताए । यद्धपी कानुनी विज्ञहरूको सङ्गठनबिना विधेयकमा काम गर्न नसकिने उनको जिकिर छ ।
उनले भने ‘आन्तरिक जलयात्रा नियमनको लागि उहाँले भन्नुभयो ‘नेपालमा जति बढी पानीजहाज उद्योगहरू दर्ता भयो त्यति नै हामीलाई फाइदा हुन्छ । अझै त्यसमा काम गर्ने मान्छे ५०, ६० प्रतिशत नेपाली हुनुपर्छ भन्यौँ भने नेपाली नागरिकले रोजगारी पनि पाउँछ । एकदमै सम्भावना भएको क्षेत्र हो के यो । ठूला देशहरूले रकेट उडाउने तयारी गरिरहेका बेला नेपालजस्ता विकासशील राष्ट्र जलयानको माध्यमबाट फाइदा उठाउन सकिन्छ । पानी जहाजको ज्ञान नभएको ठूलो टिम नहुने हो भने यसमा काम गर्न सकिँदैन । त्यसकारण हामीले यो ऐनअन्तर्गत दुईवटा नियमावली बनाउने प्रयास गरेका छौं । एउटा, आन्तरिकको लागि र अर्को बाह्यको लागि । नेपालभित्रको लागि हाम्रै कानुन भइहाल्यो बाहिरको लागि आईएलओका ५६ महासन्धीमध्ये हामीले पानी जहाज चलाउनका लागि आठ, दश वटा त कार्यान्वयन गर्नैपर्छ । नेपालको आन्तरिक जलयात्राको लागि हामीले छिट्टै काम गर्नुपर्नेछ । नागरिकलाई नागरिक परिचयत्र र आन्तरिकको लागि दर्ता नगर्ने हो भने पानी जहाज कार्यालयलाई सुरक्षा थ्रेट हुने बेला भइसक्यो । आन्तरिक जलयात्राको लागि सबैभन्दा ठूलो अवरोध वनको हुँदो रहेछ । किनभने वनहरूले त्यो जलमार्ग हाम्रै हो भन्नुहुँदो रहेछ । यसलाई समाधान गर्नुपर्ने देखिन्छ ।’
बैठकमा बोल्दै श्रम तथा व्यवसायजन्य विभागका निमित्त महानिर्देशक विपिन राज भण्डारीले विदेशी जहाज भाडामा लिएर नेपालको झण्डा राखेर चलाउन नपाउने बताए । सांसदहरूले राखेका जिज्ञासाहरूको जवाफ दिँदै उनले कुनैपनि देशको झण्डा त्यसको प्रतीक भएको कारण नेपालमा दर्ता नभएका पानीजहाजमा नेपालको झण्डा राखेर चलाउन नपाइने बताए ।
उनले भने ‘विदेशी जहाज नेपालले भाडामा लिएर नेपालको झण्डा राखेर चलाउन पाइँदैन । झण्डा भनेको हाम्रो देशको प्रतीक हो । त्यसैले विदेशमा दर्ता भएको जहाज नेपालमा फेरि दर्ता गर्न पाउँदैन । नेपालमा दर्ता भएको जहाजमा मात्र झण्डा राखेर चलाउन पाइन्छ ।’
बैठकमा मंगवार पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय लगायतका निकायहरूसँग छलफल गरिएको छ । —








