‘सरकार संकटका पोका बोकेर हिँडेको छ, अध्यादेश पनि त्यसकै उदाहरण हो’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकार संकटका पोका बोकेर हिँडेको आरोप लगाउँदै त्यसको एउटा पोको भर्खरै जारी गरिएका अध्यादेश भएको टिप्पणी गरेका छन् ।
मंगलवार नेपाल प्रेस संगठनले धनुषामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले यस्तो बताएका हुन् । उनले अध्योदश ल्याउनुपर्ने के जरुरी अवस्था आईपर्यो ? भनेर प्रश्न समेत गरे । उनले संवैधानिक व्यवस्थाअनुसार कुनैपनि कानुनहरू सामान्य रुपमा बनाउन सकिने उल्लेख गर्दै उनले सामान्य रुपमा कानुन बनाउने कुरामा कसैको पनि अवरोध नगरेको उल्लेख गरे ।
उनले सरकारले अध्यादेश ल्याउनुको औचित्य पुष्टि गर्न नसकेको उनको भनाइ छ । उनले अध्यादेश ल्याउनुपर्ने प्रक्रिया नमिलेकै कारण आफ्नो पार्टी अध्यादेशको समर्थन गर्न नसक्ने बताए ।
उनले भने ‘अहिले जुन सरकार छ, झन्डै दुई तिहाईको सरकार भारी बर्कम सरकार भएपनि अनेक संकट पोका बोकेर हिँडेको छ । त्यसमध्येको एउटा पोको अहिले भर्खरै जारी गरिएको अध्यादेश पनि हो । अध्यादेश ल्याउनुपर्ने के जरुरत छ यो मुलुकमा ? जब कि संविधान अनुरूप कुनैपनि ऐनहरू सामान्य रूपले बनाउन सकिन्छ । सामान्य प्रक्रियाबाट ऐन बनाउने कुरामा कसैले पनि अवरोध गरेको छैन । यो अवरोध नै नभएको बेलामा अध्यादेश ल्याउनुपर्ने कुनै आवश्यकता नै होइन । अध्यादेशहरू तत्काल कानुन बनाउन नसकेको विशेष अवस्थामा ल्याइने चिज हो । त्यस्तो के विशेष अवस्था छ त अहिले नेपालमा ? त्यो त सरकारले कुनै परिभाषित गर्न सकेको पनि छैन । त्यसकारण यसको प्रक्रियाकै हिसाबले पनि हाम्रो पार्टी, हाम्रो पार्टीको संसदीय दलले यस अध्यादेशलाई समर्थन गर्न सक्दैन ।’
उनले वर्तमान सरकारकै कमजोरीको कारण युवा पलायन बढिरहेको बताए । उनले वर्तमान सरकारले मान्छे बेच्नको लागि ठाउँ ठाउँमा मेनपावर कम्पनी खोलेर बसेको गम्भीर आरोप लगाए ।








