खबर दिनभर : एमालेलाई साथ दिए कांग्रेसलाई फाइदा हुने,सुशासनका लागि बालेनले सम्झौता नगर्ने

आगामी निर्वाचनमा कांग्रेसको बहुमत नआए पनि देशकै ठूलो पार्टी बनाउनुपर्छ : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा देशकै ठूलो पार्टी बन्नेगरी तयारीमा लाग्न पार्टीका नेतारकार्यकर्तालाई निर्देशन दिएका छन् ।

सोमवार रुपन्देहीमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले नेपाली काँग्रेस आगामी निर्वाचनमा बहुमत ल्याउन नसके पनि सबैभन्दा ठूलो पार्टी बन्नसक्ने बताए ।

उनले पहिलाको भन्दा ठूलो पार्टी बन्नेगरी तयारी गर्न निर्देशन दिए । नेताहरूबिचका मतभेदहरू छलफलको माध्यमबाट समाधान गरेर पार्टीलाई जीवन्त बनाउनुपर्ने बताए ।

सभापति देउवाले भने ‘भोलिको दिनमा हाम्रो पार्टीले बहुमत ल्याउन नसके पनि सबैभन्दा ठूलो, हिजोको भन्दा ठूलो पार्टी बनाउन हामी लाग्नुपर्छ भन्नेकुरा अनुरोध गर्न चाहन्छु । हाम्रो बीचमा अनेक किसिमका मतभेदहरू हुन सक्छन् । ती सबै कुरालाई हामीले आपसमा छलफल गरेर टुंग्याउनु पर्छ । मतभेद छलफलबाट हटाएर पार्टीलाई जीवन्त बनाउनु पर्छ । हाम्रो पार्टीलाई जीवन्त पार्टी बनाउनसके मात्रै हामी अघि बढ्न सक्छौँ ।’

सभापति देउवाले नेपालको लोकतन्त्र समावेशी र समानुपातिक तथा विपक्षी दलसहितको राम्रो व्यवस्था भएको बताए ।

‘स्रोतमा चाप छ, पूर्वतयारी नभएका र प्रतिफल नदिने योजनाका लागि बजेट नमाग्नू’

अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमासम्बन्धी मार्गदर्शन पठाएको छ ।

बजेटको स्रोत व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण र दबाबमा रहेको उल्लेख गर्दै मन्त्रालयले सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न भनेको छ ।

सबै विषयगत निकायलाई मितव्ययी खर्च, प्राथमिकताका आयोजना छनोट, दोहोरोपन हटाउने र कार्यान्वयन योग्य योजना मात्र समावेश गर्न मन्त्रालयले आग्रह गरेको छ । मार्गदर्शनअनुसार नयाँ योजना प्रस्ताव गर्दा पर्याप्त तयारी र लागत–लाभ विश्लेषण आवश्यक पर्नेछ भने हाल सञ्चालनमा रहेका योजना सम्पन्न गर्न पर्याप्त बजेट सुनिश्चित गर्नुपर्नेछ ।

राष्ट्रिय गौरवका आयोजना तथा अन्य उच्च प्राथमिकताका परियोजनालाई प्राथमिकता दिइने र स्रोतको उपलब्धिमूलक उपयोग सुनिश्चित गर्न स–साना आयोजनामा स्रोत छर्ने प्रवृत्ति निरुत्साहित गरिने मन्त्रालयले जनाएको छ ।

बजेटको स्रोत व्यवस्थापनमा परेको दबावलाई मध्येनजर गर्दै सार्वजनिक खर्चको प्रभावकारिता बढाउने र आर्थिक गतिविधि विस्तार गर्नेगरी आगामी आर्थिक वर्षको बजेटमा पर्ने आयोजना तथा कार्यक्रमको प्राथमिकीकरण गर्न मन्त्रालयले परिपत्र गरेको छ ।

“आगामी आर्थिक वर्षको बजेट तर्जुमालाई यथार्थपरक, कार्यान्वयनयोग्य र नतिजामुखी बनाउन खर्चको दक्षता अभिवृद्धि हुने गरी क्रियाकलाप निर्धारण गरी आफ्नो मन्त्रालय वा अन्तर्गतका आयोजना तथा कार्यक्रम आगामी चैत १५ गतेभित्र मन्त्रालयगत बजेट सूचना प्रणाली ९एलएमबिआईएस०मा प्रविष्ट गरिसक्ने व्यवस्था मिलाउन अनुरोध छ”, पत्रमार्फत् भनिएको छ ।

राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षका लागि रु १९ खर्ब ६५ को सीमाभित्र बजेट ल्याउन सक्नेगरी सरकारलाई सिलिङ उपलब्ध गराएको छ ।

सोही सीमाभित्र रहेर वार्षिक कार्यक्रम तथा बजेट प्रस्ताव गर्नुपर्ने अर्थ मन्त्रालयले जनाएको छ । यस्तै, योजना तथा कार्यक्रम कार्यान्वयनका क्रममा रकमान्तर र कार्यक्रम संशोधन गर्न नपर्ने गरी यथार्थपरक बजेट प्रस्ताव गर्नुपर्ने पनि बजेट तर्जुमा मार्गदर्शनमा उल्लेख छ ।

“विनियोजन दक्षता कायम गर्न आयोजनाको उद्देश्यसँग प्रत्यक्ष सम्बन्धित क्रियाकलापमा मात्र बजेट प्रस्ताव गर्नुपर्नेछ । आयोजना तथा कार्यक्रममा दीर्घकालीन दायित्व सिर्जना गर्ने प्रकृतिका क्रियाकलाप समावेश गर्नु हुनेछैन”, विषयगत मन्त्रालयलाई आग्रह गर्दै अर्थले भनेको छ, “चालु खर्चमा मितव्ययिता कायम गर्ने गरी अत्यावश्यक बजेट मात्र प्रस्ताव गर्ने र अनिवार्य दायित्वका खर्च शीर्षकमा पछि थप निकासा माग गर्न नपर्ने गरी पर्याप्त बजेट प्रस्ताव गर्नुपर्नेछ ।”

एकै प्रकृतिका क्रियाकलाप विभिन्न उपशीर्षक तथा कार्यक्रममा समावेश भएकामा आगामी आर्थिक वर्षदेखि त्यस्ता क्रियाकलापलाई एकीकृत गरी व्यवस्थित गरिनुपर्ने पनि बजेट तर्जुमा मार्गदर्शनमा उल्लेख छ ।

यस्स्तै आयोजना तथा कार्यक्रम प्रस्ताव गर्दा पूर्वतयारी पूरा भएका तथा लागत लाभ विशेषणबाट कार्यान्वयनयोग्य देखिएका गुणस्तरीय आयोजना मात्र समावेश गर्न भनिएको छ । हाल कार्यान्वयनमा रहेका आयोजना आगामी आर्थिक वर्षमा सम्पन्न हुने भएमा सोको लागि पर्याप्त बजेट विनियोजन गरिसकेपछि मात्र नयाँ कार्यक्रम तथा आयोजनाका लागि बजेट प्रस्ताव गर्नुपर्ने मार्गदर्शनमा जनाइएको छ ।

“सीमित स्रोतको उपलब्धिमूलक उपयोग गर्न स–साना आयोजनामा स्रोत छर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेछ । क्रमागत आयोजनाको सङ्ख्या घटाउने, कार्यान्वयन हुन नसक्ने तथा कम प्राथमिकताका आयोजना स्थगन गरी कार्यान्वयनयोग्य आयोजना मात्र प्रस्ताव गर्ने व्यवस्था मिलाउनु पर्नेछ”, बजेट तर्जुमा मार्गदर्शनमा भनिएको छ,“आयोजना प्रस्ताव गर्दा राष्ट्रिय योजना आयोगको आयोजना बैङ्कमा प्रविष्ट भएका आयोजना मात्र समावेश गर्नु पर्नेछ । यस्तै, अध्ययन पूरा नभएका नयाँ आयोजना कार्यान्वयनक्ँ लागि बजेट विनियोजन नहुने हुँदा त्यस्तो आयोजनाको अध्ययन तथा तयारी कार्यका लागि मात्र बजेट प्रस्ताव गर्नू ।”

बजेट तर्जुमा मार्गदर्शनअनुसार स्रोतको सुनिश्चितता नगरी नयाँ आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न पाइने छैन । यस्तै, आयोजना प्रस्ताव गर्दा अन्तरतह तथा अन्तरमन्त्रालयमा दोहोरोपना नपर्ने सुनिश्चित गर्नुपर्नेछ । विपद्पछिको पुनःनिर्माण कार्यलाई प्राथमिकता दिई बजेट प्रस्ताव गरिनुपर्ने जनाइएको छ ।

अर्थ मन्त्रालयले स्रोत सहमति दिएका आयोजना तथा कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा सिर्जना हुने दायित्व भुक्तानी गर्न पुग्ने रकम छुट्याएर मात्र अन्य आयोजना तथा कार्यक्रममा बजेट प्रस्ताव गर्न भनिएको छ ।

प्राथमिकताको आधारमा कार्यान्वयन निरन्तरता दिनुनपर्ने प्रकृतिका स्रोत सुनिश्चित गरिएका आयोजनालाई समेत पुनः प्राथमिकीकरण गरी स्रोत व्यवस्थापन गरिनुपर्ने मार्गदर्शनमा उल्लेख छ । विभिन्न आयोजना तथा कार्यक्रममा विधिसम्मत रूपमा भएको खर्चको भुक्तानी गर्नुपर्ने सिर्जित दायित्वको रकम अनिवार्य रूपमा प्रस्ताव गर्न भनिएको छ । यसैगरी, राष्ट्रिय गौरवका आयोजना तथा अन्य महत्वपूर्ण कार्यक्रममा सिर्जना हुने दायित्वलाई भुक्तानी गर्न पुग्ने गरी बजेट प्रस्ताव गर्नुपर्नेछ ।

ससर्त अनुदानका आयोजनाहरूलाई पुनःप्राथमिकीकरण गरी गुणस्तरीय आयोजनामात्र निरन्तरता दिनु भनिएको छ । “तयारी पूरा नभएका तथा लगानी विधि सुनिश्चित नभएका नयाँ आयोजना प्रस्ताव गर्नु हुनेछैन । ससर्त अनुदानबाट बेहोर्नुपर्ने कार्यरत जनशक्तिका लागि आवश्यक तलबलगायत अनिवार्य दायित्वमा पर्याप्त रकम प्रस्ताव गर्नुहुनेछ”, मार्गदर्शनमा भनिएको छ ।

समपूरक र विशेष अनुदानका आयोजना तथा कार्यक्रमको सिर्जित दायित्व भुक्तानी गर्न पुग्ने रकम प्रस्ताव गरी बाँकी रकमको मात्र नयाँ आयोजना प्रस्ताव गर्न सकिनेछ । यस्तै, सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउन चालु प्रकृतिका खर्च घटाउने गरी विनियोजन प्रस्ताव गर्न आग्रह गरिएको छ ।

सफ्ट्वेयर खरिद र परामर्श सेवालगायत खर्च शीर्षकमा पर्याप्त आधार र लागत प्रभावकारिता हेरी एकीकृत प्रणालीको विकासमा सहयोग पुग्ने भएमा मात्र बजेट प्रस्ताव गर्नुपर्नेछ । अबन्डामा कुनै पनि बजेट प्रस्ताव गर्न र अत्यावश्यकीय अवस्थामा बाहेक फर्निचर फिक्चर्स तथा सजावट खर्चमा बजेट माग्न पाइनेछैन ।

नैतिक मूल्य-मान्यता, सदाचार र योग सभ्य समाजका मेरुदण्ड हुन् : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताएका छन् ।

‘सर्वोदय सेवाश्रम’द्वारा स्थापित ‘नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार’ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुणहरू अनिवार्य भएको बताए । उनले भने, “जब कुनै समाजले नैतिकता, अनुशासन र इमानदारीलाई सम्मान गर्छ, त्यहाँ शान्ति, सहअस्तित्व र सकारात्मक परिवर्तनको जग मजबुत हुन्छ ।”

राष्ट्रपति पौडेलले प्रकृति र मानवबीचको गहिरो सम्बन्धलाई आत्मसात् गर्दै, योग शिक्षा, स्वस्थ जीवनशैली र मानवसेवाका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गरे ।

उनले दुई दशकभन्दा बढी समयदेखि लमजुङमा सक्रिय सर्वोदय सेवाश्रमले योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार स्थापना गरेर उदाहरणीय काम गरेको बताए ।

नेपालको निजामती प्रशासनिक क्षेत्रमा निष्ठा, इमान्दारिता र कर्तव्यपरायणताको उदाहरणीय प्रतिमान स्थापित गर्नुभएका लमजुङ, दुराडाँडाका स्वर्गीय नरकान्त अधिकारी तथा न्याय प्रशासनको क्षेत्रमा उच्चतम इमान्दारिता, कर्तव्यनिष्ठा र क्षमताको परिचय दिनुभएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश, सुखौरा, तनहुँ निवासी स्वर्गीय भैरवप्रसाद उपाध्यायको सम्मानमा स्थापित यी पुरस्कारहरू उहाँहरूको योगदानको प्रतीक भएको राष्ट्रपति पौडेलले उल्लेख गरे ।

राष्ट्रपति पौडेलले नरकान्त योग राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएका प्रा डा विद्यानाथ उपाध्यायले नेपाली समाजमा शिक्षाको प्रवद्र्धन, योग तथा अध्यात्मको क्षेत्रमा पुर्‍याएको योगदान भैरव सदाचार राष्ट्रिय पुरस्कार पाउनुहुने मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायधीश खिलराज रेग्मीले न्यायप्रतिको निष्ठा एवं नेपालको सङ्क्रमणकालीन समयमा देशलाई स्थायित्व प्रदान गर्न पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए ।

रेग्मी र उपाध्याय सम्मानित

सर्वोदय सेवाश्रमले यस वर्षको भैरव सदाचार राष्ट्रिय पुरस्कार मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र नरकान्त योग राष्ट्रिय पुरस्कार प्रा डा विद्यानाथ उपाध्याय भट्टलाई प्रदान गरेको छ । पुरस्कारको राशि जनही रु एक लाख र सम्मानपत्र रहेको छ । ती दुवै पुरस्कार राष्ट्रपति पौडेलले उहाँहरुलाई हस्तान्तरण गरे ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायधीश रेग्मीलाई देशको कार्यकारी र न्यायालयको सर्वोच्च पदमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पुरस्कृत गरिएको हो । यस्तै उपाध्याय भट्टले योग चिकित्सा र प्रशासनको क्षेत्रमा अतुलनीय योगदान गरेकामा पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कृत व्यक्तित्व मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले मानवता, नैतिकता र सच्चरित्रता जस्ता विषयको सिकाइ र शिक्षाबारे अध्ययन गराउन छाडिएकाले नैतिकता, सदाचार जस्ता मानवीय सच्चरित्रताका गुणहरू समाजमा ह्रासोन्मुख हुँदै गएको बताए ।

“मानिसमा आफ्नो र स्वार्थका लागि जे पनि गर्ने प्रवृत्ति बढ्दै गएको छ । अनुशासन, विनयशीलता र वाणीमा शालीनता हराउँदै गएको छ,” उनले भने,“अंहकार र दम्भको भावना बढेको पाइन्छ । यसैले व्यक्ति, समाजलाई विनयशील, चरित्रवान्, अनुशासित बनाउन नैतिक शिक्षा र सिकाई पद्धतिमै सुधारको आवश्यकता छ ।”

पूर्वअध्यक्ष रेग्मीले आफूले प्राप्त गरेको पुरस्कारको राशि मानवीय सेवा र सदाचारको प्रवद्र्धनमा उपयोग गर्नेगरी आफ्नै जन्मथलो पाल्पाको विद्यालयमा पढ्ने अनुशासन, सदाचार र राम्रो आचरणमा उत्कृष्ट विद्यार्थी पुरस्कृत हुने गरी समर्पण गर्ने घोषणा गरे ।

अर्का पुरस्कृत व्यक्तित्व प्रा।डा।उपाध्याय भट्टले योग शिक्षा र योग विज्ञान हरेक मानिसको जीवनसँग जोडिएको विषय रहेको उल्लेख गर्दै योग साधना, सदाचार र नैतिक चाचरणको प्रवद्र्धनका लागि सबै जुट्नुपर्ने खाँचो औंल्याए ।

सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले योग शिक्षा, मानव स्वास्थ्य, समाजिक सेवा, नैचिक सदाचार आदि विषयमा संस्थाले काम गर्दै आएको जानकारी दिए ।

एमालेलाई बलियो साथ दिए कांग्रेसलाई नै फाइदा हुनेछ : देउवा

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बलियो साथ दिनुपर्ने बताएका छन् । उनले कांग्रेस र एमाले सहभागी संयुक्त सरकारलाई थप बलियो र सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिएका हुन् ।

भैरहवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले एमाले नेतृत्वको सरकारलाई पार्टीले पूर्ण सहयोग गर्नुपर्ने बताए ।

उनले अहिले एमालेलाई सहयोग गरेको खण्डमा मात्र भोलि बन्ने कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेबाट पुरापुर सहयोग मिल्ने सभापति देउवाले उल्लेख गरे ।

‘मुख्य त ठूला दुई दलको सहभागितामा सरकार गठन भएकाले यो सफल हुनेछ,’ उनले भने, ‘कांग्रेस, एमाले बाहेक दलका साथीहरू पनि सरकारमा समावेश हुनु एकदमै राम्रो कुरा हो ।’

सरकारमा सहभागी नभएका विपक्षी दलको पनि मुलुक सञ्चालनमा ठूलो भूमिका रहेकाले समावेशी चरित्रको लोकतान्त्रिक शासन रहेको उनले बताए ।

‘यी सबै कुरालाई मध्यनजर गरेर हामी हाम्रो पार्टी बनाउनतर्फ केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘भोलिका दिनमा कांग्रेसले बहुमत नै नल्याएपछि पक्कै ठूलो पार्टी बन्ने छ, त्यसका लागि अग्रसर हुनुस् ।’

सुशासनका लागि जोसँग जुध्न तयार छु, तर सम्झौता गर्दिन : बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुशासनका लागि जोसँग पनि जुध्न तयार रहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले सो कुरा बताएका हुन् ।

उनले सुशासनका लागि कसैसंग सम्झौता नगरिने समेत बताएका छन् । उनले लेखेका छन्,‘सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिन । सुशासन कायम गरेरै छोड्छु ।’

उनले आफु प्रधानमन्त्री केपी शर्मा ओलीको दुश्मन नभएको बताउँदै विकासका साझेदार रहेको बताए । भ्रष्ट कार्यकर्तासंग भने नझुक्ने उनको भनाई छ ।

‘प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईका दुश्मन होइनौँ, विकासका साझेदार हौँ । हामीले गरे जति विकासका सबै काम पनि तपाईकै कार्यकालमा भएका हुन् भनिदिउँला,शाहले भने,‘तर त्यसो भन्दा पत्याउने बनाउन आग्रह, पुर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गरि त्यो दाबी गर्न सक्ने ल्याकत बनाउने जिम्मा तपाईकै हो । अनि जति भ्रम फैलाए पनि, हामी तपाईको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ । महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन । अहिलेका लागि देशमा आवश्यक सबै भन्दा ठुलो कुरा सुशासन हो । भ्रष्टहरूविरूद्धको लडाइँ हो ।’

केआइआइटी विश्वविद्यालयमा रहस्मय मृत्यु भएकी प्रकृतिलाई न्याय दिलाउँछौँ : देउवा

परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा रहस्यमय मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साललाई न्याय दिलाउने विश्वास दिलाएकी छन् ।

प्रकृतिको मृत्युपछि शोकमा रहेका उहाँका बुबाआमा र आफन्तजनलाई सोमबार भैरहवामा भेटेर समवेदना प्रकट गर्दै मन्त्री डा देउवा र गृहमन्त्री रमेश लेखकले यस्तो बताएकी हुन् ।

मन्त्री डा देउवाले मृत्युको प्रकृतिका बुबाआमा र आफन्तजनलाई सत्यतथ्य पत्ता लगाई दोषीमाथि कानुनबमोजिम कडा कारबाहीका लागि आफूले सुरुदेखि नै कूटनीतिक पहल जारी राखेको बताउनुभएको थियो ।

उनले प्रकृतिको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे आफूले गत हप्ता ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग कुराकानी गरेको र उक्त घटना भएलगत्तै त्यहाँका उच्च शिक्षामन्त्रीसँगसमेत कुराकानी भएको जानकारी गराए ।

त्यसक्रममा घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई पठनपाठनको उचित र सुरक्षित प्रबन्ध गर्न आग्रह गरेको मन्त्री डा.देउवाले जानकारी गराए ।

प्रकृतिका बुबाआमासँग उहाँले भन्नुभयो, “मैले कूटनीतिक माध्यमबाट दोषीमाथि कानुनी कारबाहीका लागि पहल गर्न भारत सरकारसँग आग्रह गरेकी छु र सरकारले यसलाई फलोअप गरिरहेको छ । प्रकृतिलाई न्याय दिलाउने काममा म र गृहमन्त्रीजीले कुनै कसर बाँकी राख्ने छैनौँ ।”

यस विषयमा परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली दूतावासले ओडिसा सरकार, विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको पनि मन्त्री देउवाले जानकारी दिए ।

उक्त विश्वविद्यालयमा अध्ययनरत प्रकृतिको यही फागुन ४ गते रहस्यमय मृत्यु भएको थियो ।

रास्वपाको कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा फर्किए मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झा पार्टीको कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा फर्किएका छन् ।

केही सप्ताहको अध्ययन बिदा पश्चात् उनी सोमबारदेखि कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा फर्किएका हुन् ।

उनले आजबाट आफू पार्टीको कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा फर्किएको जानकारी दिएका छन् ।

‘म केही सप्ताहको अध्ययन बिदा पश्चात् आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता ९कार्यवाहक० को जिम्मेवारीमा फर्किएको छु’ उनले भने ।

झा गत माघ पहिलो हप्तादेखि अध्ययनका लागि एक महिना बिदामा बसेका थिए । उनको अनुपस्थितिमा सह–प्रवक्ता प्रतिभा रावललाई जिम्मेवारी दिएका थिए ।

नेप्से परिसूचक घट्यो

साताको पहिलो कारोबारको दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।

नेप्से परिसूचक १३ दशमलव ६२ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ६६ को विन्दुमा कायम भएको हो ।

आज विभिन्न तीन सय कम्पनीका तीन करोड १२ लाख ४१ हजार दुई सय ५८ कित्ता शेयर एक लाख ३९ हजार पाँच सय ५५ पटक खरिदबिक्री हुँदा १४ अर्ब २८ करोड ४५ लाख १० हजार पाँच सय ९५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारपछि जीवन बीमा शून्य दशमलव ७७, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, म्युचुअल फन्ड एक, निर्जीवन बीमा शून्य दशमलव ४६ र अन्य समूह एक दशमलव ६८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ एक दशमलव ३५, विकास बैंक शून्य दशमलव ८४, वित्त शून्य दशमलव ९३, होटल तथा पर्यटन एक दशमलव ८८, जलविद्युत् एक दशमलव २१, लगानी समूह शून्य दशमलव २४, लघुवित्त शून्य दशमलव ८८ र व्यापार शून्य दशमलव ८४ प्रतिशतले घटेको छ ।

आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु एक अर्ब ३८ करोड ७४ लाख ४७ हजार बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर १७ लाख ७१ हजार पाँच सय ५० कित्ता शेयर किनबेच भएको छ ।

सोमबार कतिमा हुँदैछ सुनचाँदीको किनबेच ?

नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि स्थिर छ। महासंघका अनुसार आज चाँदी १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

स्कुटर दुर्घटना हुँदा सभामुखका पीएसओको मृत्यु

स्कुटर दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीका सुरक्षाकर्मी ९पीएसओ० प्रहरी नायब निरीक्षक ९सई० योगेन्द्र बोहराको मृत्यु भएको छ ।

सोमवार दिउँसो धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत गोदावरी नगरपालिका(२ विद्युत् कार्यालय नजिक स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा ३४ वर्षीय सई बोहराको निधन भएको हो ।

सुदूरपश्चिम प्रदेश ०१(००९ प ३४२९ नम्बरको स्कुटर दुर्घटना हुँदा घाइते भएका बोहराको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

साफ च्याम्पियनसिप जित्ने लक्ष्य हुनेछ– नवनियुक्त फुटबल प्रशिक्षक म्याट रस

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको नवनियुक्त प्रशिक्षक म्याट रसले यसै वर्ष हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएका छन् ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० ले आईतवारदेखि लागू हुनेगरी अस्ट्रेलियन प्रशिक्षक म्याट रसलाई एक वर्षका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

एन्फाले सोमवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना गरेको पत्रकार सम्मेलनमा अस्ट्रेलियन प्रशिक्षक म्याटले यसै वर्ष हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएका हुन् । उनले एसियन कप क्वालिफायरमा राम्रो नतिजा दिलाउन प्रयास गर्ने आशा व्यक्त गरेका छन् ।

नेपाली फुटबल टोलीमा क्षमतावान् खेलाडी रहेको र महिला टोलीमा पनि क्षमतावान् खेलाडी रहेको प्रशिक्षक म्याटको भनाइ छ ।

व्यक्तिगत रूपमा केही खेलाडीमा उत्कृष्ट क्लास रहेको उनले बताए । अनुभवी प्रशिक्षकले केही देशहरूलाई विश्व फुटबलमा उत्कृष्ट टिम दिएको स्मरण गर्दै उनले तीमध्ये एक आइसल्यान्ड रहेको उल्लेख गरे ।

फुटबल विकास गर्न तल्लो तहदेखि खेलाडी र प्रशिक्षकको प्रशिक्षक अगाडि बढाउनुपर्ने उनको धारणा छ । प्रशिक्षक म्याटले आफू नेपाली टोलीसँग काम गर्न उत्साहित रहेको उल्लेख गर्दै केही खेलाडीलाई केपी ओली कप र झापाको फुटबल प्रतियोगितामा हेरेको बताएका छन् । ती खेलाडी र कोचिङ स्टाफसँग काम गर्न आफू उत्साहित रहेको पनि उनले उल्लेख गरे । उनीहरूसँग मिलेर सफलता प्राप्त गर्ने उनको भनाइ छ ।

उनले सफलताका लागि धेरै चुनौती रहे पनि चुनौती लिन नै आफूलाई मनपर्ने र त्यसैले पनि प्रशिक्षक बनेको धारणा व्यक्त गरेका छन् । साथै उनले अस्ट्रेलियामा रहेर सेमी प्रोफेसनल फुटबल खेलिरहेका खेलाडीका लागि सदैव ढोका खुला रहेको पनि बताए ।

अस्ट्रेलियन प्रशिक्षक म्याटले राम्रो टोली बनाउनका लागि राम्रा खेलाडीका लागि ढोका खुला रहेको उल्लेख गर्दै आफू दीर्घकालीन लक्ष्य लिएर आएको धारणा राखेका छन् । उनले नेपाली यु–२० मा पनि उत्कृष्ट खेलाडी रहेको र उनीहरूलाई कुनै पनि हालत गुमाउन नचाहने पनि उल्लेख गरे ।

नेपालमा फुटबलप्रतिको क्रेज र जोस अविश्वसनीय रहेको र ती जोसलाई एक बनाएर नेपाली फुटबललाई नयाँ उचाइमा पु¥याउने आफ्नो प्रमुख जिम्मेवारी हुने बताएका छन् । म्यानमारसँग नेपाली महिला टोलीको खेल हेरेको र खेल मैदानको वातावरण धेरै उत्साहजनक रहेको उल्लेख गरे । आफ्नो प्रमुख जिम्मेवारी नै फुटबलप्रति नेपालीको जोसलाई एकठाउँमा ल्याएर नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउनु हुने उनको विश्वास छ ।

उनले बलियो टोली निर्माण गर्दै आम मानिससम्म त्यसलाई जोड्न प्रयास गर्ने बताएका छन् । आफूले विभिन्न देशको टोली र क्लब गरी करिब २० वर्ष फुटबल प्रशिक्षण गराएको पनि उनले उल्लेख गरेका छन् । प्रशिक्षक म्याटले सफलता प्राप्त गर्नका लागि नेपाली टोलीमा राम्रो वातावरण सिर्जना गर्ने पनि विश्वास व्यक्त गरेका छन् ।

केपी ओली कप फुटबलको उपाधि मच्छिन्द्रलाई

मच्छिन्द्र एफसीले केपी ओली कप फुटबलको उपाधि जितेको छ । सोमबार भएको तेस्रो संस्करणको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २(० ले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो ।

मच्छिन्द्रको जितमा स्टेफेन जमाह जालेले १ गोल गर्दा एक गोल आत्मघाती भएको थियो । २९औं मिनेटमा मच्छिन्द्रको क्रस क्लियर गर्ने क्रममा बिमल पाण्डेबाट आत्मघाती गोल हुँदा मच्छिन्द्रले अग्रता लिएको थियो ।

केपी ओली कपको पहिलो, दोस्रो संस्करण जितेको मछिन्द्रले तेस्रो संस्करणको उपाधि पनि हात पारेको छ । प्रतियोगिताको विजेता मच्छिन्द्रले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 11 =