नेपाललाई आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत अघि बढाउन जरुरी : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई आत्मनिर्भर, स्वावलम्बी एवं स्वाधीन अर्थतन्त्रको विकासमार्फत अघि बढाउन जरुरी रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा नेपाल विश्व सम्बन्ध परिषद्को ७७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल सबै मित्रराष्ट्रहरूसँग मित्रवत दुई पक्षीय सम्बन्ध, जनस्तरबीचको सम्बन्धको पक्षमा रहँदै आफ्नो विकासका बहुआयामिक क्षेत्रहरूमा आपसी सहयोग एवं सहकार्यबाट अघि बढ्न चाहेको बताए । उनले जलवायु संकटका कारण विश्व शान्ति र समृद्धिमा नयाँ चुनौतीहरू थपिएको बताए ।

नेपालको संविधानको निर्देशक सिद्धान्तहरूमा धारा ५१ को (ड) मा उल्लेखित अन्तर्राष्ट्रिय सम्बन्धी नीति, नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशील रहँदै संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशिलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने उद्देश्यबाट परिलक्षित रहेको बताए ।

उनले यी उद्देश्य र लक्ष्य प्राप्त गर्न सबैको इमानदारिता र राष्ट्रप्रेम अनिवार्य एवं सर्वोपरि सर्तहरू रहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, सुशासन, मानव अधिकार प्रवर्द्धनका लागि साझा प्रतिवद्धताका साथ अघि बढ्न जरुरी रहेको बताए । जलवायु परिवर्तन, महामारीको प्रभाव, आर्थिक सुस्तताबाट त्राण पाउन नेपालसहित अन्तर्राष्ट्रिय जगतसँग साझा रणनीति र सामूहिक प्रयासका साथ अघि बढ्न सक्नुपर्ने बताए ।

नेपालको अन्तर्राष्ट्रिय छवि प्रवर्द्धनका साथै आर्थिक विकास एवं सामाजिक प्रगतिसहित समृद्धिको लागि अन्तर्राष्ट्रिय समुदायबाट आवश्यक पर्ने सहयोग र सहायता प्राप्त गर्न विकास साझेदार राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यलाई थप बलियो र प्रभावकारी बनाउनुपर्ने बताए ।

उनले भने ‘नेपाललाई आत्मनिर्भर, स्वावलम्बी एवं स्वाधीन अर्थतन्त्रको विकासमार्फत अघि बढाउन जरुरी छ । यसमा सबैको योगदान अभिवार्य छ । यो सन्दर्भमा यस परिषद्को जिम्मेवारी र भुमिका झनै बढी हुनसक्छ । नेपालको संविधानको निर्देशक सिद्धान्तहरूमा धारा ५१ को (ड) मा उल्लेखित अन्तर्राष्ट्रिय सम्बन्धी नीति, नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशील रहँदै संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशिलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने उद्देश्यबाट परिलक्षित छ । यी उद्देश्य र लक्ष्य प्राप्त गर्न सबैको इमानदारिता र राष्ट्रप्रेम अनिवार्य एवं सर्वोपरि सर्तहरू हुन् ।’

उपराष्ट्रपति यादवले परराष्ट्र नीतिलाई सुदृढ गर्दै अन्तर्राष्ट्रिय सम्बन्धलाई थप प्रगाढ एवं बलियो बनाउन निरन्तर प्रयासको खाँचो रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =