नेताहरुले नैतिक चरित्र पुनःस्थापित गरौँ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपालका राजनीतिक दलका नेताहरुले नैतिक चरित्र पुनःस्थापित गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘मेटेरियल एण्ड कल्चरल एडभान्समेन्ट: दी प्याक्टिस अफ चाइना’ कार्यक्रममा सम्बोधन गर्दै उनले नैतिकताको महत्व औंल्याएका हुन् ।

उनका अनुसार, चीनका राष्ट्रपति सि जिनपिङले प्रस्तुत गरेको नैतिकताको अवधारणालाई नेपालका राजनीतिक नेताहरुले अनुशरण गर्नुपर्छ । मन्त्री पाण्डेले भौतिक विकास मात्र पर्याप्त नभएर आत्मिक विकास पनि उत्तिकै जरुरी रहेको बताए। उनले पूर्वीय दर्शनले आत्मसन्तोष र नैतिक उन्नतिका लागि दिएको निर्देशनलाई आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले भने, ‘मानव सभ्यताले भौतिक प्रगति हासिल गरेको छ, तर आत्मसन्तुष्टि अझै प्राप्त भएको छैन । हाम्रो पूर्वीय दर्शनले हामीलाई आत्मिक विकास र शान्तिको मार्ग देखाएको छ । परोपकार, पुण्याय, वसुधैव कुटुम्बकम् जस्ता मूल्यहरु हाम्रो संस्कृतिको प्रमुख पुँजी हुन् । हामीले यी मूल्यहरुलाई आत्मसात् गर्दै जनस्तरमा पु-याउन आवश्यक छ ।’

मन्त्री पाण्डेले नेपाल र चीनबीच संस्कृतिक आदानप्रदानलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिए । उनले नेपालको उज्ज्वल भविष्य निर्माणका लागि नैतिक चरित्र बलियो बनाउनुपर्ने धारणा राख्दै, उच्च नैतिक मूल्यहरू अंगीकार गरेमा देश आत्मनिर्भर बन्न सक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =