चोर भनेर बाबु-आमाले प्रतिकार गर्दा छोराको मृत्यु, यसरी भयो घटना

काठमाडौं । मकवानपुरमा चोर भनेर बाबु-आमाले प्रतिकार गर्दा आफ्नै छोराको मृत्यु भएको छ । इन्द्रसरोवर गाउँपालिका-३ अदुवावारीस्थित ६४ वर्षीय मिनबहादुर भ्लोन र ६३ वर्षीया देवीमायाले चोर भनेर प्रतिकार गर्दा ३९ वर्षीय छोरा भरत भ्लोनकोमृत्यु भएको हो ।

बिहीबार बेलुका ८ बजेतिर मिनबहादुर र देवीमाया खाना खाने तयारी गर्दै थिए । सोही बेला मुखमा मास्क लगाएका एक युवक छिरेर भ्लोन दम्पतीलाई खुर्सानीको धुलो आँखामा फालिदिए । खुर्सानीको धुलो फालेपछि दम्पतीलाई पनि चोर आएको शंका भएपछि उनीहरु पनि प्रतिकारमा उत्रिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालका अनुसार दम्पतीले भान्सामा जे-जे भेटिन्छ त्यहीले ‘चोर’ माथि प्रहार गरे । अन्धाधुन्ध आक्रमण भएपछि मास्कधारी व्यक्ति पनि बुढाबुढीमाथि जाइलागे । दुई पक्षबीच हानाहान भयो । अन्ततः दम्पतीले चोरलाई नियन्त्रणमा लिई बाँधेर प्रहरीलाई खबर गरे । प्रहरी पुग्दा चोर भनिएका व्यक्ति रक्ताम्य अवस्थामा थिए, टाउकोबाट रगत बगिरहेको थियो । मिनबहादुरको हात, मुख र टाउकोमा चोट देखिएको थियो। देवीमायाको आँखा र हातमा चोट लागेको थियो ।

‘प्रहरीले त्यसपछि तीनै जनालाई गाडीमा हालेर हेटौंडा अस्पतालमा ल्यायौं,’ डीएसपी अर्यालले सुनाए, ‘हेटौंडा अस्पतालबाट थप उपचारका लागि चोर भनिएको व्यक्तिलाई राति नै चितवनस्थित भरतपुर अस्पताल रिफर गरियो ।’ उपचारको क्रममा भरथको शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

हेटौंडा अस्पतालमा उपचार गराइरहेका भ्लोन दम्पतीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । शुक्रबार बिहान थप अनुसन्धान गर्न भ्लोनको घरमा पुगेको प्रहरी टोलीले घरबाहिर एउटा झोला फालेको अवस्थामा फेला पारेको थियो । उक्त झोलाभित्र पासपोर्ट फेला भेटियो । जुन पासपोर्ट भ्लोन दम्पतीकै छोरा भरतको थियो । ३९ वर्षीय भरत भ्लोन दुई वर्षदेखि घर फर्किएका थिएनन् । बिहीबार राति आएका व्यक्ति छोरा नै भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

जेठो छोरा भरत मास्क लगाएर आएको हुँदा नचिनेको आमा देवीमायाले प्रहरीलाई बताएकी छन् । भरत घरमा चोरी नै गर्न आएका थिए कि थिएनन् भन्नेबारे एकिन भने भइसकेको छैन । प्रहरीले यसबारे पनि अनुसन्धान अघि बढाएको छ । प्रहरीले घटनास्थलबाट मोबाइल पनि फेला पारेको छ । भरत चार-पाँच वर्षदेखि काठमाडौंतिरै बस्ने गरेको परिवारले जानकारी दिएका छन् । काठमाडौँ बस्दा पनि बाबु-आमालाई फोन गरेर धम्क्याउने, घर जाँदा झगडा गर्ने गरेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 8 =