किसानकै पक्षमा काम गरिरहेका छौँ : कृषि मन्त्री

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले किसानकै पक्षमा काम गरिरहेको बताएका छन् । युवा किसान सञ्जालले आज यहाँ आयोजना गरेको किसान सम्मान एवं अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले आफुले मन्त्रालयको नेतृत्व सम्हालेको आठ महिनामा भएका कार्य समग्र कृषि र किसानको पक्षमा भएको बताए । अझै थुप्रै कामहरु गर्न वाँकी रहेकाले सकारात्मक प्रतिफल देखिँदै जाने उनको भनाइ थियो ।
कृषि विधेयक चाँडै अघि बढाउने गरी मन्त्रालयले काम गरिरहेको जानकारी उनले दिए । विधेयक चाँडै मन्त्रिपरिषद हुँदै संसद्मा पुग्न लागेको र कृषिमार्फत गरिबी घटाउँदैै कम्तीमा आफ्नै हैसियतमा बाँच्न सक्ने अवस्थामा पुर्याउने लक्ष्य ऐनले बोकेको मन्त्री अधिकारीले बताए।
किसानलाई परिचय पत्र वितरण यसै वर्षदेखि सुरु गर्न लागेको बताउँदै उहाँले प्रधानमन्त्रीबाट परिचयपत्र वितरण सुरुवात गर्ने तयारी भएको बताए । मन्त्री अधिकारीले कृषि मन्त्रालयमार्फत विगत पाँच वर्ष यता अनुदान लिएकाको नाम सार्वजनिक गरिएको बताउँदै कृषि र किसानका नाममा रु एक खर्ब सात अर्ब वितरण भएकाले यसको उपलब्धि खोज्ने काम भएको बताए ।








